धरानः धरानमा दुईजनामा संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिका दुई महिला छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ वर्षीया वृद्धाको आइतबार राति ९ः२० मिनेटमा मृत्यु भएको हो । उनलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रतिष्ठानको ल्याबमा परीक्षण गरिएको थियो ।
श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, निमोनियालगायतका समस्या देखिएपछि उनलाई कन्काई अस्पताल झापाले बीपीमा रिफर गरेको थियो । उनी असोज ४ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
यस्तै, इनरुवा ४ सुनसरीकी ४९ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको सोमबार बिहान २ः०० बजे मृत्यु भएको हो । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि मेडिसिन वार्डमा भर्ना गरिएको थियो । कोभिड पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई असोज १ गते संक्रमण पुष्टि भएको थियो । उनको पनि प्रतिष्ठानको ल्याबमा परीक्षण गरिएको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।