Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीले कोरोना जाँचेको शुल्क लिने !

हाम्रो कोशी आवाज
असोज ७ २०७७, बुधबार
धरानको बीपीले कोरोना जाँचेको शुल्क लिने !

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको पिसिआर परीक्षण गरेको शुल्क लिने निर्णय गरेको छ ।
सरकारबाट किट उपलब्ध नभएपछि प्रतिष्ठानले पिसिआर परीक्षणको शुल्क लिने निर्णय गरेको जनाएको छ । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा अब कोरोना पिसिआर गर्न न्युनतम शुल्क लिने जनाएको छ । सूचनाअनुसार कोरोना परीक्षण गरेको न्यूनतम २ हजार रुपैयाँ शुल्क लिने भएको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर शाहले प्रदेश र संघीय सरकारबाट पिसिआर गर्न उपलब्ध गराउँदै आएको किट, रिएजेन्टका आवश्यक सामग्रीहरू उपलब्ध हुन नसकेकोले निःशुल्क पिसिआर गर्न नसकिने जानकारी दिए ।
सूचनामा प्रतिष्ठान आफैंले किट खरिद गरेर पिसिआर टेस्ट गर्नुपर्ने भएपनि शुल्क लिनुपर्ने अवस्था आएको जनाइएको छ । सूचनामा प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पिसिआर टेस्ट आवश्यक भएमा मात्र चिकित्सकको सिफारिसमा निःशुल्क पिसिआर टेष्ट गरिने जनाइएको छ ।
चिकित्सकले सिफारिस गरेका बाहेक प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरूले तथा बाहिरका व्यक्तिहरुले पनि पिसिआर टेस्ट गर्न चाहेमा सरकारले तोकेको न्यूनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने छ । साथै, निःशुल्क र सशुल्क दुवै परीक्षण गर्दा प्रतिष्ठानको बिल काउन्टरबाट अनिवार्य बिलिङ गर्नुपर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: असोज ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend