धरानः बिहीबार सुनचाँदीको भाउ पुनः घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।
बुधबार यसको भाउ ९४हजार तिन सय रुपैयाँ थियो । यता तेजावी सुनको भाउ पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार यसको भाउ ९३ हजार आठ सय रुपैयाँ थियो। यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले घटेर एक हजार एक सय २० रुपैयाँ कायम भएको छ । बिहीबार यसको भाउ एक हजार एक सय ९० रुपैयाँ थियो ।
सुनको मूल्य निरन्तर घट्न थालेको हो । गत आइतबार तोलामा ९७ हजार रुपैयाँ पुगेको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ भएको थियो । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घट्दै तोलाको ९५ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

बुधबार पुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो साताको सुरुदेखि नै लगातार सुनको भाउ घटिरहेकोले चाडबाडको मौसममा सुनको बजारमा चहलपहल बढ्ने विश्वास गरिएको छ ।
चाँदीको मूल्य पनि क्रमिक रुपमा घटिरहेको छ । बिहीबार चाँदी तोलामा ७० रुपैयाँले घटेर तोलाको १ हजार १ सय २० रुपैयाँ कायम भएको छ । बुधबार पनि तोलामा ४० रुपैयाँले घटेर तोलाको एक हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै यो साता सुनचाँदीको कारोबारमा गिरावट आएको छ । बिहीबार सुन प्रतिऔंस १८५५ .६९ डलर र चाँदी प्रतिऔंस २२. ११ डलरमा कारोबार भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
बुधवार सुन प्रतिऔंस १८८७.०७ डलर र चाँदी २३.५२ डलरमा कारोबार भएको थियो । हाल अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्यमा दैनिक ४० देखि ५० डलरसम्म कमी आइरहेको कारण स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।