धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर चिकित्सक (डाक्टर) नै आन्दोलनमा होमिएका छन् ।
प्रतिष्ठान सुधारको माग गर्दै सिनियर चिकित्सक आन्दोलित भएका हुन् । प्रतिष्ठान सुधारमा चारजना पदाधिकारीको भूमिका शून्य रहेको भन्दै प्रतिष्ठानको नेतृत्व सही ढङ्गले सञ्चालन गर्न माग गर्दै चिकित्सकले धर्ना कार्यक्रम सुरु गरेका हुन् ।
१९ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएको प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिए ।
चिकित्सक नै आन्दोलनमा होमिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ । आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्नेलगायतका माग राखेका छन् ।
उनीहरूले सोमबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना समेत दिएका थिए । सोसाइटीका महासचिव डा. एसपी रिमालले विशुद्ध रहेको प्रतिष्ठानमा राजनैतिक हस्तक्षप गरी प्रतिष्ठानको गरिमालाई आँच पुरयाउन खोजिएको बताए । चिकित्सकको आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा विक्रमप्रसाद श्रेष्ठ, प्रवक्ता डा. निदेश सापकोटाको समेत सहभागिता छ ।