धरानः धरान–९ गौतमपथमा ‘के एण्ड डी कलेक्सन’ नामक फेन्सी पसलकी सञ्चालिका देवी परियारले घरधनीले आफ्नो पसल कब्जामा लिएको बताएकी छिन् ।
घरधनीले आफूलाई जानकारी नदिई पसलको ताला तोडफोड गरेर अर्को ताला लगाएर पसल आफ्नो कब्जामा लिएको बताइन् । उनले विगत १० महिनादेखि पसल घरधनीका छोरा रोमनकुमार राईले कब्जामा लिएको बताइन् । नेपाल पत्रकार महासंघ सुनसरीमा पत्रकार सम्मेलन आयोजना गरी उनले धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालको संलग्नतामा कोठाको ताला फुटाएर आफ्ना सामानसमेत कब्जामा लिएको आरोप लगाइन् । ‘पुस महिनादेखि मेरो सामान कब्जामा छ’, उनले भनिन्, ‘अहिलेसम्म केही न्याय पाएको छैन, उल्टै वडाध्यक्ष पनि लागिपरे ।’
गौतमपथस्थित आशलक्ष्मी राईको घरमा पसल सञ्चालन गर्दै आएकी उनले विज्ञप्ति जारी गरेकी छिन् । विज्ञप्तिमा घरधनीले कुनै जानकारी नदिई वडा कार्यालयमा कोठा खाली गराई पाऊँ भनी निवेदन दिएको, घरबहाल लिँदा सम्झौता पनि वडाध्यक्षले गराइदिएको र दिनभरि सञ्चालनमा रहेको पसल राति वडाध्यक्षको मौखिक निर्देशनमा ताला तोडी अर्को ताला झुन्डयाइएको जनाइएको छ ।
‘मैले सीप तथा व्यवसाय गरी जीविकोपार्जन गर्नका लागि ऋणपान, काडखोज तथा जयजेथाबाट आर्थिक जुटाई सञ्चालन गर्दै आएको पसल ०७६ पुस २१ गते रातको ८ः३० बजेतिर ताला तोडफोड गरी पुनः तालाबन्दी गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘१९ लाख रुपैयाँ बराबरको धनमाल कब्जा गरी लामो समयदेखि आर्थिक तथा मानसिक यातना खपिरहेको छु ।’

यो घटना वडा कार्यालय, इलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाको न्यायिक समितिसम्म पुगेको उनले जानकारी दिइन् । तर त्यहाँ पुग्दा पनि न्याय नपाएको उनको भनाइ छ । उनले न्यायिक समिति र वडाध्यक्ष पनि पीडकको पक्षमा लागेको उनको आरोप छ । उनले जनप्रतिनिधिको नाममा व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गर्नु अन्याय भएको बताइन् । ‘खासमा वडाध्यक्षकै भनाइ सुनेर कोठामा ताला झुन्ड्याइयो त्यसपछि पदको दुरुपयोग गर्दै वडाध्यक्षले नियमबद्ध तरिकाले नगई उल्टै फँसाउन लाग्नु दुःखद् हो’, उनले भनिन् ।
वडाध्यक्ष कटुवालले भने आफूले यस्तो काम नगरेको बताए । ‘खासमा वडामै मिलाएर पठाएको हो तर अर्को ताला झुन्डयाइएछ, उनले भने, ‘ताला लगाउनु भनेकै हो अर्को ताला लगाउने ठाउँ नभएपछि घरधनीले फोडी नै दिएछन् ।’ उनले फोन सम्पर्कमा भने । घरधनी रोमनकुमारले भने भने आफै व्यवसाय गर्न भनेपछि सो घर खाली गर्न भनेको आफूले थाहा पाएको उनले बताए ।
उनले कम्तीमा दुई वर्ष घरबहाल सम्झौता गर्नुपर्ने, सञ्चालन रहेको पसलमा रातको समयमा ताला फोडेको र आफूखुशी अर्को ताला लगाएकोले पसलको सरसामान तथा हिसाब किताबको मुचुल्का उठाउनुपर्ने, पसल कब्जा गरी ताला लगाएकोले पसलभित्र रहेका नगद तथा सरसामान क्षति भएको र हराएको भए त्यसको हिसाब व्यहोर्नुपर्ने, १९ लाखको ब्याज र अन्य क्षतिपुर्तिको हरहिसाब समेत तत्काल उपलब्ध गराउनुपर्ने आफ्नो माग रहेको उनले बताइन् ।