धरानः पूर्व ब्रिटिस गोर्खा सैनिक सन्तबहादुर गुरुङको जन्मदिनमा सहयोग गरिएको छ ।
९० पुगेको अवसरमा उनले धरानस्थित पुनस्थापना गृहमा जन्मदिन मनाएका हुन् । लायन्स क्लब अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा उनले जन्मदिन पुनस्थापना गृहमा पुगेर मनाएका हुन् ।
गुरुङले बिहीबार ९० वर्ष टेकेको अवसरमा केक काट्दै खुवाउनुका साथै दशैंसम्म खान पुग्ने गरी खाद्यान्न समेत दिएको संयोजक टंककुमारी गुरुङले जानकारी दिइन् । उनले गृहलाई ५ सय ५० केजी चामल, २२ केजी नुन, २ कार्टुन तेल र २५ केजी चामल प्रदान गरेका थिए ।
गृहका सञ्चालक भीम राईलाई सो सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिइन् । खाद्यान्न प्रदानसँगै पुनस्थापना गृहका आश्रितहरुलाई जुस पनि दिइएको थियो ।
‘भित्रिँदै गरेको दशै र तिहारको लागि केही सहयोग होस् र आफ्नो जन्मदिनमा केही सहयोग गर्नु पाएकोमा खुशी छु’, सन्तबहादुरले भने । लायन्स क्लब अफ धरान विजयपुरका अध्यक्ष लायन कबिरभगत प्रधानाङगको अध्यक्षतामा भएको कार्यक्रममा इस्पेसल एड्वाइजर लायन गौरीशंकर अग्रवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्पेसल एड्वाइजर लायन मिना पुलामी, लायन बिपिन सुब्बा, डिस्ट्रिक चिफ लायन टंककुमारी गुरुङ, लायन शान्ति श्रेष्ठ सिनियर सल्लाहकार लायन बलराम मानन्धर, सल्लाहकार चित्र राई एओजी चन्द्रमाया लिम्बू आभा सुवाल, एरिया कोअर्डिनेटर सरिता राई गुरुङ तथा विभिन्न क्लबका अध्यक्षको पनि उपस्थिति थियो ।


