विराटनगरः विराटनगरको नोवेल शिक्षण अस्पताल दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार कानेपोखरी गाँउपालिका ६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनका अनुसार विगत ५ वर्षदेखि ब्लड क्यान्सरबाट पीडित कानेपोखरीका पुरुषको बिहान करिब ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरोसँगै कोरोनाका अन्य लक्षण देखिएका उनलाई सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए ।
अर्कोतर्फ गएको ६ दिन अघि संक्रमण पुष्टि भएका ४५ वर्षीय पुरुषको बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको छ । असोज १३ गते उपचारका लागि अस्पतामा आएको बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको दाहालले जानकारी दिए । बिरामीलाई आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । बिरामीमा मधुमेहको पुरानै समस्या रहेको थियो ।