धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा बेड दिनदिनै भरिन थालेका छन् ।
धरानमा दिनप्रतिदिन कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुँदै गएको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहको हस्ताक्षर भएको सूचना नै जारी गरेर अस्पतालमा बेड अभाव हुँदै गएको जनाइएको हो । अस्पतालमा लक्षणसहितका बिरामी भर्ना भइसकेको र बिरामी ल्याउनुपर्दा फोन सम्पर्क गरेर मात्रै बिरामी ल्याउन सूचित गरिएको छ ।
‘हाम्रो आशय चाहिँ के हो भने ल्याएपछि फर्किरहनुनपरोस्, भन्ने नै हो’, उनले फोन सम्पर्कमा भने, ‘अहिले दिनहुँ बिरामी लक्षणसहितका संक्रमित बढ्दै गएका छन्, त्यही भएर बिरामी पनि आइरहेका छन्, अब थेग्न सक्ने अवस्था रहेन, त्यही भएर यो सूचना जारी गरेका हौं ।’
यसअघि बिरामी फोन गरेर आउने गरेको बताउँदै उनले विगत एक महिनादेखि लगातार बिरामी आउन थालेको बताए । ‘लक्षणसहितका (ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने) संक्रमित केस बढिरहेका छन्, एक महिना भयो, लगातार यहाँ आइरहेका छन्, त्यही भएर समस्या बढ्दै गएको हो ।’ उनले थपे, ‘यति मात्रै होइन सास फेर्न गाह्रो भएपछि आइसियुसमेत चाहिने बिरामी बढिरहेका छन् ।’
अस्पतालमा लक्षणसहित संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुँदै गएको उनको भनाइ छ । ‘अस्पतालको बेड भरिएपछि कोरोना पोजिटिभ देखिएको तर, लक्षण देखिएकैले पनि भरिएका हुन्,’, उनले भने ।
अहिले बीपीले लक्षण भएका संक्रमितलाई मात्र उपचार गरिरहेको छ । ‘उपचार गराइरहेका बिरामी डिस्चार्ज पनि हुन्छन्, तर संक्रमित बढिरहेका छन्, संक्रमित बढ्दा बेड खाली हुन मुस्किल पर्दै गएको छ ।’ उनले भने ।
अस्पतालको आइसोलेसन बेड पूर्णरुपमा प्याक भइसकेकोले अस्पतालमा आएको संक्रमितलाई नफर्काउने गरेको तर विगत एक महिनादेखि थेग्नै नसक्ने अवस्थासम्म आएको उनले जानकारी दिए ।
उनले भने, ‘लक्षणसहितका संक्रमितको संख्या बढी भएकोले अस्पतालको बेड भरिएको छ । दैनिकजसो डिस्चार्ज पनि हुन्छन् । तर, संक्रमतिको संख्या बढी भएकोले बेड अभाव भएकै हो ।’
‘धरानका बिरामी अस्पताल पुग्नुपरेको छैन’
अहिले धरानमा धेरैजसो बिरामी होम आइसोलेसनमै रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । लक्षण देखिएका तर हल्काफुल्का ज्वरो आउने बिरामी पनि अहिले घरमै रहेको उनले जानकारी दिए । पचाउन नसक्ने, सास फेर्न गाहो भएकालाई तुरुन्त अस्पतालले परामर्श गरेर मात्रै पठाउने गरेको उनले बताए । ‘अस्पतालले सिरियसलाई मात्रै लिन्छ, त्यो पनि परामर्श गरेर मात्रै’, उनले भने, ‘धरानको केसमा अहिलेसम्म तीन चारजनाबाहेक अन्यमा भेन्टिलेटर नै चाहिने अवस्था आएको छैन ।
हाल बीपीमा ५२ जना लक्षणसहितका बिरामी उपचाररत रहेको कोअर्डिनेटर डा. इन्द्र लिम्बूले जानकारी दिए । बीपीको बेड क्षमता लगभग ६० जना अटने रेको उनले जानकारी दिए । यस्तै, आइसियु १० बेडको र ४ वटा भेन्टिलेटर छ ।
सरकारले कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न भनेको छ । घरमा बस्ने संक्रमितलाई स्थानीय सरकारको समन्वयमा राखिएको उनले बताए । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेको उनको दाबी छ । यदि कुनै संक्रमितलाई गाह्रो भए अस्पताल भर्ना गर्र्दै आएको उनले बताए ।
