धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सेवा विस्तार गरिने भएको छ ।
कोभिड अस्पतालमा कोरोनाका बिरामी बढेसँगै सेवा विस्तार गर्न लागिएको जारी सूचनामा जनाइएको छ । अस्पताल प्रशासनले कोभिड अस्पतालमा थप १० वटा भेन्टिलेटर र १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआइभी), ८ वटा हाइ फ्लो न्याजल क्यानुला (एचएफएनसी) थपिने तयारी भएको सूचना जारी गर्दै जनाएको छ । यस्तै, २५ वटा हाइ डिपेन्डेन्सी युनिट (एचडियु) साथै अक्सिजन पोर्टसहित ४० बेडको क्षमता विस्तार गरिने जनाइएको छ । कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिनभित्र जडान कार्य सकिने सूचनामा जनाइएको छ ।
उता प्रतिष्ठानको कोभिड अस्पतालमा रहेको ८ वटा भेन्टिलेटर सबै काम गरीरहेको अवस्थामा रहेको प्रतिष्ठानका निर्देशक प्रा. डा. गौरीशंकर साहले बताएका छन् ।
‘प्रतिष्ठानको कोभिड अस्पतालको सामग्री बिग्रिएको र बिरामीको राम्रो उपचार र हेरचाह नभएको भन्ने अफवाहको फैलिएको कारण अस्पतालको अवस्था बुझ्नका लागि निरिक्षण गर्दा सबैले काम गरिहेको पाएका छौं’, उनले भने, ‘भेन्टिलेटरको परीक्षणका लागि इन्जिनियर नै छन्, उनले हरेक विहान भेन्टिलेटर जाँच्छन् । अहिलेसम्म ८ वटा नै भेन्टिलेटरले काम गरिरहेको छ ।’ सूचनामा हस्ताक्षर भने कुनै पदाधिकारीले गरेका छैनन् ।
