Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माइ लर्ड त्यो कोरोना !

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७७, शनिबार
माइ लर्ड त्यो कोरोना !

धरानः म युवापुस्ता । शुरुमा जिउ भारी, हल्का सुख्खा खोकी लागेको थियो, हल्का ज्वरो पनि आएको थियो, असोज २५ गते नै एन्फा क्वारेन्टाइनस्थल पुगेर कोरोना परीक्षण गराएँ । असोज २७ गते कोरोना पोजेटिभ भनेर रिपोर्ट आयो ।
त्यसपछि म होम आइसोलेसनमै बसें । बेसार–तातो पानीलगायत नियमित सेवन गरिरहें । अधिकांशले भनिरहनु भयो–बेसार, तातो पानी, गुर्जोलगायतका आयुर्वेदिक औषधि सेवन गर्नुपर्छ । मैले त्यसै गरिरहें । ज्वरो आउने, मुख सुक्ने, अलिअलि घाँटी र छाती दुख्ने, स्वाद नहुने र खोकी पनि चल्ने भइरह्यो । मैलै यो अवधिमा बेसारपानी, गुर्जो, सुप, अण्डा तथा मासु र फलफूल तुलनात्मकरुपमा धेरै खाएँ । तर ठीक हुनुको सट्टा मलाई छाती दुख्ने, हिँड्न गाह्रो हुने, पखाला चल्ने, स्वास फेर्न समस्या हुँदै गयो ।
त्यतिबेलासम्म आफन्तजन, साथीभाइको फोन आइरह्यो । मैले फेसबुकमै लेख्नुपर्ने भयो–फोन रिसिभ गर्न असमर्थ भएकोले फोन नगरिदिनुहोला ।
११ दिनपछि निकै गाह्रो भयो । सास फेर्न एकदमै गाह्रो भइरहेको थियो । पखाला पनि चलेकोले हिँड्न नसक्ने भइसकेको थिएँ । रिपोर्ट आएदेखि नै मैलै तातोपानीको वाफ लिइरहेको थिएँ तर पनि ठीक भएन । झन् गाह्रो हुँदै गयो । सास फेर्न गाह्रो हुन थाल्यो । अस्पताल जाने विचार गरें ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. इन्द्र लिम्बूलाई फोन गरें । उहाँले बेड खाली छ भन्नुभयो । रेडक्रसको एम्बुलेन्स झिकाएर म एम्बुलेन्समै सिधै बीपी प्रतिष्ठान पुगें ।
बेड मिलाएको कारणले होला मलाई करिब आधा घण्टाजति अस्पताल परिसर बाहिरै राखियो । आधा घण्टापछि कोभिड अस्पतालभित्र लगियो । भित्र लगेपछि अक्सिजन चढाइयो । अक्सिजनको पाइप नाकमा जोडियो । म बेडमा पुगेर सुतें । मलाई अक्सिजन दिँदै अक्सिजन लेभल, पल्स, प्रेसर, ज्वरो सबै फेरि जाँचियो । डाक्टरसहित नर्सको टोलीले जाँचियो, अक्सिजन लेभल कम भएको भन्ने सुनें पनि । श्वास फेर्न गाह्रो भएर आफ्नै अगाडि मान्छेहरु भटाभट मरिरहेको प्रत्यक्ष देखें, धेरै रात म आँखा चिम्म नगरी नै बसें । त्यो पल सम्झँदा पनि जीउमा काँडा उम्रेर आउँछ ।
अक्सिजनको सहारामा तीनदिन बिताएँ । छाती दुख्न अलि कम भएर अलि बोल्न मिल्ने पनि भयो । भनौं म बेडमा बसेको तीनदिनपछि अक्सिजन लगाउनुपरेन । तीन दिनपछि सास फेर्न अलि सजिलो भयो । त्यतिञ्जेलसम्म १० वटा अक्सिजनको सिलिन्डर ममाथि चढाइसकिएको थियो । त्यतिबेला म माथि अक्सिजनसँगै ज्वरोलगायत अन्यको औषधि पनि प्रयोग गरियो । औषधिले ज्वरो ठीक हुँदै गयो, पखालाले शरीर लखतरान भएको थियो । पखालाको औषधिले पखाला पनि ठीक भयो । सलाइन दिइएको थियो । त्यसले अझै राहत महसुस भयो । चार दिनको दिन मेरो पुनः परीक्षण भयो । त्यतिबेला रिपोर्ट नेगेटिभ आइसकेको थियो । चार दिनकै दिन मलाई डिस्चार्ज गरियो ।
अहिले पनि धेरै समय बोल्दा हल्का सुख्खाखोकी चलिरहेको छ तर अब निकै सहज भएको महसुस गरिरहेको छु । अहिले म घरमै आराम गरिरहेको छु । अब भने कोरोनालाई जित्दै गएको महसुस गरिरहेको छु ।
आभारी छु
म हस्पिटल पुगेपछि अति नै राम्रो सेवा पाएको महसुस गरिरहेको छु । अति नै राम्रो ट्रिटमेन्ट भयो । डा. इन्द्र, डा. देवराज काफ्लेप्रति आभारी छु । उहाँहरूकै नियमित हेरचाहले म यो अवस्थासम्म आइपुगेको छु ।
योभन्दा कठिन दिन मैलै कहिल्यै भोगेको थिइनँ । भोग्न पनि नपरोस् । मैले यो बेला परिवारलाई निकै मिस गरें । बीपीमा बिरामीको चाप एकदमै धेरै भएपनि त्यो स्तरको माया र उपचार विधि साँच्चै प्रशंसायोग्य भएको पाएँ । मलाई स्वास्थ्यकर्मी र चिकित्सकले दायित्वमा मात्रै पूरा गरेका होइनन्, बिरामीप्रति ठूलो गुन लगाएको अनुभूति गरेको छु ।
म कोरोनाबाट जोगिन अनेक गर्दागर्दै संक्रमित भएँ । सामान्य लक्षणमा खासै आत्तिनुनपर्ने रहेछ । घरमै बसेर तातोपानी र सुपहरू खाएर, योग गरेर स्वास्थ्यको ख्याल गर्दा हुने रहेछ । तर जब छाती दुख्छ, सास फेर्न र हिँड्न गाह्रो हुन्छ, पखाला धेरै लाग्न थाल्छ तब अस्पताल पुगिहाल्नुपर्ने रहेछ । घरैपिच्छेका डाक्टरको मात्रै भर परेको भए सायद…। त्यसैले बेसार पानी, गुर्जो अनि अरू घरेलु औषधि भनेर मात्र नबसौं, आफूलाई असहज जस्तो भए अस्पताल पुगौं, नत्र ज्यान जान पनि सक्छ । कोरोनासँग हामीले सक्दो सावधानी अपनाउन जरुरी छ । कोरोना केही होइन, भनेर हेलचेक्र्याइँ नगरौं, सचेत र सजग बनौं । (धरान–११, कुराकानीमा आधारित)

प्रकाशित मिति: कार्तिक १५ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend