धरानः जनता समाजवादीनिकट वर्गीय संगठन शिल्पी विशेष समिति प्रदेश १ ले नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा संघीय सांसद मीन विश्वकर्माको स्वास्थ्यलाभको कामना गरेको छ ।
शिल्पी विशेष समिति प्रदेश नमबर १ का अध्यक्ष नरेश विश्वकर्मा क्षितिज र सचिव शशीकुमार विश्वकर्माले प्रेस विज्ञप्ति जारी गरी पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
विज्ञप्तिमा नेपाली दलित आन्दोलनका अथक योद्धा तथा दलित अभियन्ता रुकुम चौरजहारी नरसंहारका विरुद्धमा न्यायको वकालत गर्दै सदनमा चर्को आवाज उठाउने हाम्रा दलित र शिल्पी समुदायका निधि विश्वकर्मा कोरोना संक्रमित भई कोरोनासँग लडिरहनु भएको यस विषम परिस्थितिमा उहाँले कोरोनालाई जित्न सफल हुनुहोस भन्दै कामना समेत गर्दछौं भनिएको छ ।
करोना संक्रमणपछि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा रहेका उनको स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकले जनाएका छन् । उनले आफूहरूले विश्वकर्माको स्वास्थयमा सुधार ल्याउन मेहनत गरिरहेको बताए ।
ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले भेन्टिलेटरबाट ४० प्रतिशत अक्सिजन दिँदा ९६ प्रतिशत मेनटेन भएको छ । कोरोना र निमोनियाको समस्या देखिएपछि विश्वकर्मालाई कात्तिक १२ गतेदेखि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार अपरान्ह उनलाई भेन्टिलेटरमा सारिएको हो ।
नेपाली कांग्रेसले विश्वकर्माको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लैजान सरकारसँग आग्रह गरेको छ ।
कोरोना संक्रमणका कारण १२ गतेदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका विश्वकर्माको स्वास्थ्यस्थित शनिबारदेखि थप जटिल बनेपछि कांग्रेसले दिल्ली नै लगेर भएपनि उपचार गर्न सरकारलाई आग्रह गरेको हो । आइतबार बिहान कांग्रेस संगठन विभाग प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई फोन गरी विश्वकर्माको उपचार गर्न दिल्ली लैजान आग्रह गरेका थिए ।
दलित समुदायका अग्रणी नेता दुवै संविधानसभाको सदस्य, अहिले पनि सांसद र मन्त्रीसमेत भइसकेका व्यक्तिको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने नेता श्रेष्ठको दाबी छ ।
