धरानः झन्डै सात महिनापछि भेडेटारमा साहसिक खेल जीपलाइनको मज्जा लिन पाइने भएको छ ।
चैत ११ देखि यतिका दिनजसम्म कोरोना भाइरसको कारण बन्द रहेको थियो । धरान–४ स्थित भेडेटारदेखि देवीथानसम्मको जीपलाइन आज (सोमबार) बाट पुनः सञ्चालनमा आउने भएको छ । जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक मजा लिन सकिने सञ्चालक विवश भण्डारीले बताए । जीपलाइनमा ८ वर्षदेखि माथिको उमेर समूहले मज्जा लिन सक्नेछन् । बालबालिकालाई भने अभिभावकसँग ‘टेण्डम जीपलाइन’ गराइनेछ । चाडपर्वको अवसरमा छठसम्म जीपलाइनमा २० प्रतिशत छुट रहेको सञ्चालक भण्डारीले बताए ।
जीपलाइनमा तीनवटा आइटम रहेको छ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन रहेका छन् । क्लासिक जीपलाइन अर्थात् बसेर गरिने जीपलाइनको १२ सय रुपैयाँ पर्ने बताइएको छ । यसैगरी सुपरम्यान अर्थात् घोप्टो सुतेर गरिने जीपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात् कपल जीपलाइनको २ हजार रुपैयाँ पर्नेछ । साहसिक खेल जिपलाइनको मजा लिन आउने पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमा समेत रहको छ ।
सो जीपलाइन निर्माणको लागि प्रयोग गरिने सम्पुर्ण सामग्री अमेरीका, फ्रान्स लगायतका अन्तराष्ट्रिय कम्पनीबाट ल्याइएको सञ्चालक भण्डारी बताउँछन् । धरानको जीपलाइनको ब्रेकिङ लोड ११ टन रहेको बताइएको छ । करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको जीपलाइन गत वर्ष फागुन २४ गते उद्घाटन भई खेल शुरू भएको थियो । जीपलाइन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ । तस्बीर फाइलः हाम्रो कोशी आवाज



