धरानः कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई उकास्न देशव्यापी साइकल यात्रा शुरु भएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायी समेतको टोलीले सोमबारदेखि सुदूरपश्चिमको महेन्द्रनगर हुँदै पूर्वको पशुपतिनगर र काकडभिट्टासम्म यात्रा गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । साइकल यात्राका क्रममा पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए ।
साइकल यात्रीलाई सोमबार बिहान काठमाण्डौबाट बिदाइ गरियो । महेन्द्रनगरबाट सुरु हुने साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड हुँदै काँकडभिट्टासम्म पुगेर आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।

यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको छ । साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, सीएन पान्डेलगायत छन् । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुने शाहले जानकारी दिए ।
महाकाली–मेची साइकल यात्राको उदघाटनमा १५ जना मात्रै सहभागी भए पनि बिभिन्न स्थानमा पुग्दा स्थानीय साइकल यात्रीहरुको पनि सहभागिता रहने छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा टान, नाटा र नेपाल पर्वतारोहण संघको सहयोगमा कार्यक्रम हुन लागेको हो ।