धरानः धरान-१९ की सुस्मिता सुब्बा बजार आइपुग्दा सधैंजसो मास्क लगाएकै हुन्छिन् । ‘प्रायः बजार आउँदा मात्रै होइन घर छेऊछाऊका पसल धाउँदा पनि मास्क अनिवार्य हुन्छ’, भानुचोकस्थित सब्जीमण्डी छिर्ने ठाउँमा भेटिएकी उनले खुलेर भनिन्, ‘महामारी बढिरहेको छ, मास्क खोल्ने कुरै छैन ।’
धरानस्थित भानुचोकमै भेटिएकी धरान-१६ की सिमरन राईले मास्क नलगाउँदा आफैलाई अप्ठ्यारो समेत हुने बताइन् । ‘साथीभाइले ओइ तैले त मास्क लगाएकी छैनस् त भनेर जिस्क्याउँछन् मात्रै होइन सबैले मास्क लगाएका हुन्छन् लगाइएन भने स्वतः अप्ठयारो पनि हुन्छ नि ।’
अहिले धरान बजार मास्कले धानेको छ । भनौं, मास्क लगाउने अहिले बढेका छन् । धरानमा अधिकांशले मास्क लगाएको पाइएको छ । भनौं मास्कले धानेको धरान । अधिकांश व्यवसायीले पनि मास्क लगाएको अवस्थामा देखिएका छन् । उपभोक्ताको पनि चेत फिरेको छ । अधिकांशको मुखमा मास्क छ । अधिकांशमा सचेतना आएको स्वयं व्यवसायी बताउँछन् ।
‘कोरोना संक्रमणबाट बच्न अहिले मास्क लगाउनुपर्छ, भन्ने चेतना पलाएको महसुस भएको छ’, व्यवसायी कृष्ण श्रेष्ठ भन्छन्, ‘यो धेरै राम्रो कुरा हो साथै सामाजिक दुरी पनि कायम हुनुपर्ने आजको आवश्यकता हो । तर कतिपयले हेलेचेक्र्याइँ गरी मास्क समेत नलगाइ हिँड्ने गरेको देख्दा दुःख लाग्ने दुःख लाग्ने गरेको उनले बताए । ‘भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामी आफैं सुध्रिएर मास्क, सेनिटाइजर, सामाजिक दुरी कायम गरेर संक्रमण घटाउनु आजको आवश्यकता हो ।’ उनले थपे ।
मास्कले घटायो लिपिस्टिकको व्यापार
मास्ककै कारण कतिपय व्यापार व्यवसाय भने चौपट भएको व्यवसायीको भनाइ छ । सौन्दर्यसम्बन्धी विभिन्न सामग्रीमध्ये लिपिस्टिकको व्यापार भने खस्किएको व्यवसायी बताउँछन् । धरानकी होलसेल व्यवसायी कविता लिम्बूले सौन्दर्यका सामग्रीमध्ये ओंठमा लगाइने लिपिस्टिकको व्यापार खस्किएको बताइन् । ‘मास्कले छोप्ने भनेको लिपिस्टक मात्रै होइन, त्यही भएर पनि सौन्दर्यका सामग्रीमध्ये लिपिस्टिकको व्यापार भने खस्किएकै हो ।’

अहिले अधिकांश ब्युटीपार्लर जान पाएका छैनन् । व्यवसायीका अनुसार लकडाउनयता कस्मेटिक पसलहरूमा लिपिस्टिकको व्यापार ठप्प जस्तै बनेको छ । धरानमा व्यवसायी राजकुमार महतो अन्य सामान बिकेपनि लिपिस्टिक भने जस्ताको त्यस्तै रहेको बताए । ‘अधिकांशको मुखमा मास्क छ, मास्क भएपछि किन लगाउनुपरयो भन्ने नै धेरै देखिएको छ’, उनले भने, ‘त्यही कारण पनि यसको व्यापार घटेको हो ।’
धरानस्थित भानुचोकमा भेटिएकी सुस्मिता सुब्बाले मास्क लगाएपछि लिपिस्टिकले मास्कभरी पोतिएर हैरान गर्ने हुनाले पनि लिपिस्टिकको प्रयोग हुन छाडेको हुनसक्ने बताइन् । ‘खासमा लिपिस्टिकले पनि सौन्दर्य बढाउँछ, मास्क लगाएपछि लिपिस्टिक लगाएर के गर्ने, विशेषतः लिपिस्टिक लगाए मास्कभरी पोतिएर हैरान पो हुन्छ बरु, त्यही भएर नलगाउनु नै जाति ।’
उनीजस्तै अधिकांशले अहिले लिपिस्टिक लगाउनै छाडेको महिलाहरु नै बताउँछन् । ‘मुखमा मास्क लगाउनुपर्दा यसको आवश्यकता नै नपरेपछि के गर्नु ?’ सुब्बाले थपिन् ।
मोडल सिमरन श्रेष्ठ मास्क लगाएपनि युवती, महिलाले मेकअपमा ध्यान भने दिने गरेको बताउँछिन् । ‘होइन नि हौ, महिलाले आफ्नो सौन्दर्य नै मेकअपलाई लिन्छन्, त्यही भएर पनि मेकअपमा ध्यान दिएका हुन्छन्, भलै लिपिस्टिक नलगाउलान् ।’
मास्कले संक्रमण रोक्न मद्दत गर्छः धरानका चिकित्सक
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङक्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ । डब्ल्युएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. आशिष श्रेष्ठले मास्कका अनुसार मास्कले १०० प्रतिशत काम नगरेपनि धेरै हदसम्म कोरोना सङ्क्रमण रोक्न मद्दत गरेकै हुन्छ । विशेषतः हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गरेपनि कोरोना सङ्क्रमण हुनबाट रोक्न सकिने उनले बताए । ‘मास्क हाम्रो लागि हामीले लगाउने कपडाजस्तै भइसकेको छ’, उनले भने, ‘भनौं मास्कको सही प्रयोग गरिए सङ्क्रमण रोक्न धेरै मद्दत गर्दछ ।’
तर रोगको सङ्क्रमणबाट बच्न मास्क सही तरिकाले लगाउनु महत्वपूर्ण हुन्छ । डा. श्रेष्ठले मास्कलाई हातले छुने, टाउको वा चिउँडोमा लगाउने, नाक र मुख नछोपी लगाउने, हातमा झुण्ड्याउने, टेबुलमा राख्ने, मास्क समाउने हातले विभिन्न सामान छुने आदि गर्न नहुने बताउँछन् । ‘कोरोनाविरुद्धको लडाइँमा अहिलेसम्म सबैभन्दा प्रभावकारी रूपमा देखिएका उपाय सरसफाइ, शारीरिक दूरी र मास्क प्रयोग नै हुन् । त्यसैले सबैले यसमा ध्यान दिन जरुरी छ ।’ उनले भने ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले मास्क सही तरिकाले लगाउनुपर्ने बताए । ‘सही तरिकाले हात धुने, मास्क लगाउने, खोल्ने, मास्कमा भएका रडलाई सही तरिकाले थिच्ने, नाकदेखि माथि, बीचमा छुनु भएन, पसिना, पानीले भिजे मास्क लगाउनु भएन, त्यस्तै, मास्क ८ घण्टा बढी प्रयोग नगर्ने जस्ता आदि कुरामा ध्यान दिन जरुरी छ ।’ उनले भने ।
खोपको विकल्प बन्दै मास्क
श्वासप्रश्वाससँग सम्बन्धित सरूवा रोगहरू, पुराना भाइरल संक्रमणको अध्ययनहरूले मास्कबाट संक्रमण हुन जोगाउँछ भन्ने पहिलादेखि देखाउँदै आएको छ । मास्क प्रयोगको दुई प्रमुख उद्देश्य रहेको छ । कोही व्यक्ति तपाईको नजिक आए खोकी, हाच्छ्यिुँ वा बोलिरहेको छ भने आँखाले नदेख्ने मसिना पानीका थोपाहरू हाम्रो शरीरमा प्रवेश गर्छ । जुन संक्रमणबाट रोक्ने काम मास्कले नै गरिरहेको हुन्छ ।
चिकित्सकले जुनसुकै प्रकारको मास्क लगाए हुन्छ भनेर बताउँदै आएका छन् तर, नाक र मुख राम्रोसँग छोपेर लगाउनुपर्छ । आवश्यक अवधिसम्म लगाउनुपर्छ । कुनै व्यक्ति बाहिर नस्किएको छ भने घर नपुगेसम्म मास्क लगाइरहनुपर्छ। बीच(बीचमा खोल्नुहुँदैन । हामी मास्कको प्रयोग त गर्छौं। तर, बीचमा खोल्ने र लगाउने गर्दा मास्कको प्रभावकारिता घट्न जान्छ । अनावश्यक रूपमा सावधानी नअपनाई मास्क खोल्दा संक्रमण त्यहीँबाट सर्न पनि सक्छ । त्यसकारण हामी घरबाहिर निस्कियौं भने एकछिन पनि मास्क खोल्नुु हुँदैन ।
चिकित्सकका अनुसार यसरी लगाउन सकिन्छ मास्क
–मास्क लगाएर मात्र हुँदैन । त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने हुन्छ । स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार प्याकेटबाट मास्क निकालेपछि मास्कको भित्र पट्टि नछोएरै २ वटा डोरीको सहायताले लगाउनुपर्छ । लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटक पटक फुकाल्ने गर्नु हुँदैन । पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनु हुँदैन ।
–लगाइ राखेका बेला मास्क सकेसम्म छुन हुन्न।
–मास्क निकाल्दा पनि अगाडिको भाग नछोइ पछाडिबाट तुना समात्नुपर्छ ।
–मास्क निकालिसकेपछि तुरुन्तै साबुन पानीले हात धुनुपर्छ ।
–कुनै पनि मास्कलाई धोएर पुनः प्रयोग गर्नु हुँदैन । मास्क धोएपछि मास्कको कण छान्ने कार्य क्षमतामा ह्रास आउँछ । पटक पटक धोएर लगाउँदा र तन्काउँदा यसले भाइरस रोक्न सक्दैन ।
–मास्क बिग्रेको छ, भिजेको छ वा सास फेर्न गाह्रो हुने भएको छ भने त्यसलाई बिसर्जन गरी अर्को मास्क लगाउनुपर्छ ।
–आजकल बालबालिकालाई पनि मास्क लगाइदिएको देखिन्छरु। आवश्यकता नपरेसम्म बच्चालाई मास्क नलगाइदिएकै राम्रो । विश्व स्वास्थ्य संगठनले २ वर्षमुनीका बच्चालाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।
–चस्मा प्रयोग गर्दै मास्क लगाउँदा चस्मामा बादल लाग्छरु। गालाको माथिल्लो भागबाट हावा निस्केर चस्मामा वाफ लाग्ने गर्छ । वाफबाट छुट्कारा पाउन मास्कको माथिल्लो (नाक रहेको भागमा) टेप लगाउने गरेको पनि पाइन्छ । मास्कको मुनी टिस्सु पेपर राखेर त्योमाथि चस्मा राख्दा पनि बादल आउँदैन । धेरै झुकेर नबस्दा पनि वाफ आउँदैन ।
–डिस्पोजेबल मास्क कहिल्यै धुनु हुँदैन । यसभित्र धेरै तत्वहरु छन्, जुन धोएपछि खराब हुन सक्छन् ।
–माक्सलाई धुनुको सट्टा घाममा ३र४ दिन सुकाएर राख्न सकिन्छ । हरेक दिन लगाएर मास्क फुकालेर एउटा डोरीमा झुन्ड्याउने ४ दिन अगाडि झुन्ड्याएको मास्क झिकेर लगाउने यसरी एउटा मास्कलाई धेरै पटकसम्म प्रयोग गर्न सकिन्छ ।
–मास्कमा फोहोर लागेको छ, सिङगान ¥याल तथा पानीले भिजेको छ भने पुनः प्रयोग गर्नु राम्रो हुँदैन ।
–मास्क लगाएर कुरा गर्न असहज हुन्छ । तर लगाएर कुरा गर्दै जाँदा बिस्तारै बानी पर्छ । कुरा गर्ने बेला पनि मास्क खोल्नु हुँदैन ।
–मास्कको माथिल्लो भागको भित्र पट्टि मसिनो तारको डाँठ जस्तो हुन्छ र उक्त मसिनो तार भएको ठाउँले नाकलाई राम्रोसँग च्यापेर मुख, चिउँडो र गालाको भाग राम्रोसँग छोपिने गरी लगाउनुपर्छ ।
–मास्क लगाउँदा कत्तिको आफूलाई फिटिङ भएको भन्नेमा पनि ध्यान दिनुपर्छ । माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने हुन्छ ।
–एक जनाले प्रयोग गरेको मास्क अर्को व्यक्तिले प्रयोग गर्नु हुँदैन ।
तस्वीर, भिडिओः हाम्रो कोशी आवाज डटकम
धरानमा मास्कमा को कति सचेत ? हेरौं भिडियो


















