धरानः धरानमा दुईजना दीर्घरोगीसहित तीन संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजनाको मृत्यु भएको हो ।
मोरङ ठेगाना भएका ५९ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको बिहीबार ३ः० बजे मृत्यु भएको उनले जानकारी दिए । उनी गत ९ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत २० गते कोरोना पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या रहेको उनले जानकारी दिए ।
यस्तै, राजविराज–१ सप्तरीका २३ वर्षीया युवतीको बिहीबार नै मृत्यु भएको छ । उनको बिहीबार ३ः१५ बजे मृत्यु भएको हो । उनमा रक्तअल्पता, थाइराइडलगायतका दीर्घरोग रहेको थियो । कार्तिक १८ गते कोभिड पुष्टि भएकी उनलाई १९ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
सप्तरीकै राजविराज–८ का ६५ वर्षीय पुरुषको पनि बिहीबार बिहान ८ बजे मृत्यु भएको उनले जानकारी दिए । कार्तिक १५ गते कोरोना पुष्टि भएका उनलाई सोहीदिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सोहीदिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । उनमा कुनै दीर्घरोग रहेको थिएन । तीनैजना मृतकहरुको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।