विराटनगरः अहिले अधिकांश अस्पतालमा ठाउँ नपाएर साथै अक्सिजन नपाए कोरोना संक्रमितको ज्यान गइरहेको समाचार सार्वजनिक भइरहेका बेला विराटनगरमा यी नेता जो घर–घरमा पुगेर अक्सिजन उपलब्ध गराउँदै धन्यवादको पात्र बन्दै आएका छन् ।
कोरोना संक्रमितको लागि नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपानेले यस्तो काम गरेपछि धन्यवादको पात्र बनेका हुन् । उनको नेतृत्वमा घर–घरमा अक्सिजन उपलब्ध गराउँदै आएको उनले जानकारी दिएका छन् । संक्रमितको लागि बेड नपाइरहेको अवस्थामा नगरका कार्यवाहक सभापति न्यौपानेको टोलीले अक्सिजन उपलब्ध गराउँदै आएको हो ।
दशैं अगाडिदेखी थालिएको निःशुल्क अक्सिजन अहिलेसम्म ३५ वटा सिलिन्डर अक्सिजन बिरामीको घरमा पुरयाइसकेको उनले जानकारी दिए । संक्रमणका कारण होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा र बिरामीलाई आवश्यक परेको अवस्थामा अक्सिजन सेवा उपलब्ध गराउदै आएको न्यौपानेले बताए । मानव सेवा नै धर्म हो भन्ने उद्देश्यले सहयोगी भूमिका निभाएको उनको भनाइ छ ।

यतिबेला सरकारी अस्पताल संक्रमितले खचाखच भरिएका छन् । निजीमा पनि उत्तिकै चाप छ । अक्सिजन दिएर ठीक हुनसक्ने बिरामीले समेत अस्पतालमा ठाउँ पाउन मुस्किल हुँदा धेरै त होम आइसोलेसनमै छन् । यस्तो संकटको बेला नेपाली कांग्रेस विराटनगर महानगर समितिले होम आइसोलेसनमा बसेका र आपतमा परेका संक्रमितहरूलाई घरघरमै अक्सिजन सिलिन्डर लगिदिने अभियान चलाएको उनको भनाइ छ । यो अभियानमा कांग्रेस महानगरसमिति सभापतिसमेत रहेका मेयर भीम पराजुली आफैं सक्रिय छन् । अभियानलाई मूर्त रुप दिएका छन कार्यवाहक सभापति न्यौपानेले ।
न्यौपाने भन्छन्, ‘हामीले आग्रह गरेपछि मेयर साब आफ्नै गाडी लिएर समस्यामा परेका संक्रमितलाई रातबिरात नभनी घरघरमै अक्सिजन सिलिन्डर वितरण गर्न खटिनुभएको छ । हामी त चौबीसै घण्टा सक्रिय छौं ।’

विराटनगर महानगरपालिकाका मेयर पराजुली भन्छन्, ‘अक्सिजन पाउँदा धेरै ठीक हुने र आईसीयू वा भेन्टिलेटरसम्म पुग्नै नपर्ने हुने रहेछ । अस्पतालमा ठाउँ नभएकाले होम आइसोलेसनमा बस्दा समस्यामा पर्नुहुने नगरका बासिन्दालाई सहज होस भनेरै हामीले सहयोग गरेका हौं । म आफैं पनि सिलिन्डर बोकेर घरघर गइरहेको छु । पार्टीका साथीहरूको पनि सहयोग छ ।’ पराजुलीले अक्सिजन चाहिने संक्रमितलाई यो वा त्यो पार्टीको भनेर भेदभाव नगरिएको अबरु आफू र अभियानकर्मीले आवश्यकता भएकालाई सहयोग गरिरहेको सुनाए ।
