धरानः संसारको जुनसुकै कुनामा बसेरपनि भोक लाग्यो गिफ्ट अनलाइनमार्फत् अब धरानमा रहेका आफन्तलाई उपहार पठाउन सकिने भएको छ ।
विदेश बस्ने नेपालीहरुले धरानमा रहेका आफन्तहरुको जन्मदिन, विवाह, वार्षिकोत्सव, दशैं–तिहार जस्ता पर्वहरुमा केक तथा अन्य उपहारहरु अर्डर गरेर पठाउन सकिने भोक लाग्यो डटकम तथा कुलुङ इनोभेसन प्रालिका सञ्चालक नरेन कुलुङ राईले जानकारी दिए । उनले ‘भोक लाग्यो गिफ्ट अनलाइन’ मार्फत् उपहारको रुपमा केक, बुकेहरु, केटाकेटीहरुको लागि खेलौना तथा अन्य उपहारहरु अर्डर गरी पठाउन सकिने व्यवस्था रहेको बताए ।
विगत दुईवर्षदेखि सञ्चालित ‘भोक लाग्यो डटकम’ले धरानका ७० भन्दा बढी होटलका मेनुहरुको स्पेशल फुड डेलिभरी गर्दै धरानेहरुको मन जित्दै आएको छ । अब विदेशमा बस्नेहरुले समेत धरानमा रहेका आफन्तहरुको जन्मदिन, विवाह लगायतका खुशीयालीहरु बाँड्नका लागि सरप्राइज गिफ्ट समेत अर्डर गर्न सकिने सञ्चालक राई बताउँछन् ।
अहिले क्यास अन डेलिभरीमार्फत् फुड आइटम, लिकर्स आइटम र ग्रोसरी डेलीभरी गर्दै आएतापनि विदेशबाट अर्डर गर्नेहरुले क्यास अन डेलिभरी नभई आफ्नो जुनसुकै क्रेडिट कार्ड, डेबिट कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए । जसको लागि एनआइसी बैंकसंँग सहकार्य गरेको सञ्चालक राई बताउँछन् । सञ्चालक राईका अनुसार विदेशमा रहेकाले भोक लाग्यो गिफ्टमा रहेका सामानहरु अर्डर गरेर पठाउन सक्ने र अर्डर गरेको एक घण्टाभित्र सम्बन्धित व्यक्ति कहाँ होम डेलिभरी हुने भएको छ ।
विदेशमा बस्ने धरानेहरुले आफ्नो आफन्तहरुको जन्मदिन र विवाहका लागि सरप्राइज गिफ्टहरु कसरी अर्डर गर्न सकिन्छ भनी आफूहरुलाई प्रतिक्रियाहरु आइरहेकाले विदेशमा बस्नेहरुको सेवालाई समेत मध्यनजर गरी अर्डर गर्नसक्ने सुविधा सञ्चालनमा ल्याएको सञ्चालक राईले बताए । यसअघि बाहिर रहेकाले धरानमा रहेका आफन्तलाई गिफ्ट पठाउन खोजेपनि भुक्तानी गर्न समस्या रहँदै आएको थियो ।
भोक लाग्यो गिफ्ट अनलाइन सेवा दशैंअघि नै लञ्च गर्ने तयारी भएपनि विविध कारणवश दशैंअघि सञ्चालन हुन नसकेकोले अब यही तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सञ्चालक नरेनले बताए । भोकलाग्यो डटकमले अहिले दैनिक सरदर ७०–८० वटा धरानका विभिन्न रेष्टुरेण्टका मेनुका आइटमहरुको अर्डरहरु डेलिभरी गर्दै आएको छ । सो होम डेलीभरी सेवाका लागि भोक लाग्योे डटकमले डेलिभर्समा ५ जना र कष्टमर केयरमा २ जना कर्मचारी राखेर आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।