Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मादलको व्यवसाय चौपट

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७७, बिहिबार
धरानमा मादलको व्यवसाय चौपट

धरानः तिहार आइसकेपनि धरानमा मादलको बिक्री यसपटक घटेको छ । कोरोना संक्रमणको जोखिमका कारण तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय चौपट बनेको हो ।
विगतका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन् । काठमाडौंको बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायीहरु कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको बताउँछन् । ‘यो सिजनमा हामीलाई गिटार, मादललगायतका सामग्री बेच्दा धेरै फाइदा हुन्थ्यो’, धरान छाताचोकमा रहेको रक ग्यारेज सञ्चालक चमन चौधरीले भने, ‘तर यसपटक पिटिक्कै मादललगायत अन्य साङ्गीतिक रुपमा प्रयोग गरिने बाजागाजाको व्यवसाय छैन ।’
उसो त जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै यसपटक तिहारमा देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै २४ गते देखि मंसिर ६ गतेसम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
भोलिबाट कागतिहार शुरु हुँदैछ तर बजारमा मादल खरिद गर्नेको कुनै चहल पहल छैन । मादल खरिद गर्न नआएपछि धरानका व्यवसायी पनि फुर्सदिला छन् । यसअघि तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री गरेको बताउने चौधरी यसपटक ५ वटा पनि मादल नबिनेको बताए ।
यो तिहारका बेला मादलको कारोबारमा निकै कमी आएको छ । ‘कोभिड–१९ संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था नभएका कारण मादल किन्ने कोही भएनन्’, उनले भने, ‘कोरोनाले व्यापार व्यवसाय नै चौपट बनाइदियो ।’
तिहारमा गाउँ, टोलटोल र सहरमा मादल बजाएर देउसी, भैलो खेल्नेहरुको थुप्रै समूह हुन्छ । ‘अहिले देउसी–भैलो नै नखेल्नु भनेको छ’, त्यही भएर पनि व्यवसायमा ह्रास आएको हो’, उनी भन्छन् ।

अघिल्लो वर्ष तिहारभर ४० वटा मादल बिक्री गरेका धरान–६ देशीलाइनस्थित धराने खुकुरी पसलका सञ्चालक टेकनाथ अधिकारीले हालसम्म १० वटा मादल पनि नबिकेको खुलाए ।
‘तिहारको समय अचम्मै लाग्यो, मादल बिक्न छाडेको छ यसपटक सहरमा देउसीभैलो निषेध छ, गाउँका मानिसले पनि किनेनन् मादल ।’
विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला मादल बजाएर रमाइलो गरिन्छ । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले मादल किन्ने गर्दछन् । अघिल्लो पुस्ताले मादल नै बजाउने देउसी भैलोलाई रुचाउँछन् तर पछिल्लो पुस्ताले यस्तो संस्कार भुल्दै गएका हुन् । ‘संस्कार जोगाउनकै लागि भएपनि मादलसहितको देउसी भैलो आउने गर्दथे तर मादल बजाएर देउसी भैलो भन्दै हिँड्ने पनि घट्दै जानु चिन्ताको विषय हो’, उनी भन्छन् ।
आधुनिक बाजागाजाको प्रयोग साथै युवापुस्ताको आकर्षण गिटार साथै अन्य बाजामा परेकोले किनबेच घटेको व्यवसायी बताउँछन् । ‘तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरेपनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सङ्कटमा पर्दै गएको छ’, उनी भन्छन् ।
पछिल्लो समय मोबाइल र साउण्ड बक्समा गीत बजाउँदै सांस्कृतिक कार्यक्रम हुने गरेको छ । ‘आधुनिक बाजा गाजामा रमाउने जमात बढ्दै गए मादलको ब्यापार घट्नुको साथै परम्परागत बाजा लोप हुने सम्भावना पनि बढ्दै गएको छ ।’ व्यवसायी अधिकार भन्छन्, ‘नेपाली सांस्कृतिक बाजा लोप हुन्छ कि भन्ने चिन्ता सबैमा छ तरपनि जोगाउनपट्टि खासै ध्यान गएन, त्यसैले सबै लाग्नुपर्छ ।’ धरानमा आधा दर्जन व्यवसायीहरूले मादल बेच्ने गरेका छन् ।

प्रकाशित मिति: कार्तिक २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend