धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान मेडिसिन विभाग अन्तर्गत रहेर क्यान्सरका बिरामीहरुका लागि विशेषज्ञको रूपमा कार्यरत् रहेकी छिन् डा. सोनिया दुलाल । उनले २०७७ साल साउन १ गतेबाट प्रतिष्ठानमा सेवा थालेकी हुन् ।
काठमाण्डौं विश्वविद्यालयअन्तर्गत काठमाण्डौं मेडिकल कलेजबाट एमबिबिएस सकेकी उनले त्यहीबाट नै तीन वर्ष इन्टरनल मेडिसिनमा रेजिडेन्सी गरेकी छिन् । ‘मेडिकल अङ्कुलोजीको लागि इन्टरनल सकाएपछि फेरि ३ वर्ष पढ्नुपर्ने हुन्छ । त्यसलाई डिएम भन्छ । त्यो चाहि नेपालभरी एउटैमात्र ठाउँमा छ जुन वीर अस्पतालमा हो । त्यहाँबाट पास आउट भएको म दोस्रो ब्याच हो ।’ उनी भन्छिन् ।
अङ्कुलोजिष्टमा तीनजना मात्रै प्रमाणित भएको उनी बताउँछिन् । ‘म भन्दा अगाडि १ जनामात्र पास आउट हुनुभएको छ । त्यसपछिको मेरो ब्याचमा हामी २ जना छौं । त्योमध्ये म १ जना भए । त्यसपछि अब अहिले तेस्रो ब्याच निस्कने क्रममा छ । यो मेडिकल अङ्कुलोजी भनेको बिल्कुलै नयाँ हो । त्यो कारणले हेर्दाखेरी नेपालबाट डिएम मेडिकल अङ्कुलोजिष्ट म भन्दा अगाडि एकजना र मेरो ब्याचको दुईजना गरी तीनजना मात्र प्रमाणित भएका छौं ।’
तीन वर्षे डिएम सकेपछि मन्त्रालयअन्तर्गत दुई वर्षको बण्डमा काम गर्नुपर्ने हुनाले उनी प्रतिष्ठानमा आएकी हुन् । ‘डिएम मेडिकल अङ्कोलोजी भनेको हामीभन्दा पहिले कोही डाक्टर नै थिएन भन्ने त होइन । पहिले नेपालमा डिएम डिग्री नै थिएन त्यो कारणले गर्दा पहिले चीनबाट, भारतबाट पढ्ने अथवा दुई वर्षको फेलोसिप, एक वर्षको ट्रेनिङबाट डाक्टरहरूले क्यान्सरको बिरामीहरूलाई हेरिरहनु भएको थियो, मैले यो तीन वर्षे डिएम सकेपछि मन्त्रालयअन्तर्गत २ वर्षको बण्डमा चाहिँ काम गर्नुपर्ने हुन्छ ।’ उनले भनिन् ।
समयमै उपचार गरे क्यान्सर आत्तिनु पर्दैन
क्यान्सर हुनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछिन् । पछिल्ला दिनहरूमा क्यान्सरको उपचारका लागि विभिन्न पद्दतिहरू विकसित हुँदै गइरहेकोले चौथो स्टेजको क्यान्सर भएपनि आत्तिहाल्नु नपर्ने उनी बताउँछिन् ।
‘पछिल्ला दिनहरूमा क्यान्सरको उपचारका लागि विभिन्न पद्दतिहरू विकसित हुँदै गइरहेको छ । पहिले किमोथेरापी, चिरफार र सेकाइ प्रविधीबाट मात्र क्यान्सरको उपचार हुने गरेकोमा हाल टार्गेटेड थेरापी, इमिनो थेरापीलगायतको विभिन्न पद्दति विकास भइसकेको छ । यसको सेवा नेपालमा समेत उपलब्ध छ,’ उनले थपिन्, ‘जस्तै फोक्सोको क्यान्सर चौथो स्टेजमा नै रहेपनि सुगर, प्रेसरको बिरामी जस्तै टार्गेटेड थेरापी, इमिनो थेरापीको माध्यमबाट लामो समयसम्म नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले अहिलेको अवस्थामा चौथो स्टेजको क्यान्सर भएपनि आत्तिहाल्नु पर्दैन ।’
साधारणतयाः हाम्रो शरीरमा भएको कोषहरू जन्मिने तथा निश्चित समयमा मृत्यु समेत हुने गर्दछ । तर क्यान्सरमा यी कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुँदै जान्छ । वृद्धि हुँदै गर्दा सर्वप्रथम केही अंगलाई छुने र पछि गएर शरीरको अन्य भागमा समेत सर्ने डा. दुलालको भनाइ छ । ‘क्यान्सर रोग लाग्नेबित्तिकै जीवन सकियो भन्ने मनोविज्ञान समेत गलत रहेको छ । रोग लाग्नेबित्तिकै सुरूको चरणमा नै पत्ता लगाई उपचार गरेमा क्यान्सरबाट मुक्ति पाउन सकिन्छ ।’
क्यान्सर जुनै उमेरको व्यक्तिलाई समेत हुन सक्छ । जस्तै, रगतको क्यान्सर सानो नानीहरूमा देखिने, हड्डीको क्यान्सर बढ्दो उमेरका नानीहरूमा देखिने, ग्रन्थीको क्यान्सर सानो तथा पाको उमेरमा हुन सक्छ । फोक्सो, आन्द्राको क्यान्सर युवाहरूमा समेत पाइन्छ । लक्षणहरूको सही पहिचान समयमा गर्न सकेमा यो रोगलाई सजिलै पराजित गर्न सकिने डा. दुलाले बताइन् ।
लक्षण
घाँटी वा काखिमा गाठाँगुठी आएमा, तौल घट्दै जाने, लामो समयदेखि ज्वरो आउने, निको नहुने र कारण पत्ता नलाग्ने, धेरै थाक्ने, दिनानुदिन सेतो हुँदै जाने, दिशा पिसाबमा रगत देखिने, स्तनमा सानो गाँठागुँठी देखिनु, पाठेघरको मुखबाट फोहोर पानी वा रगत जाने, मासु पलाउनु, लामो समयदेखि खाना निल्नका लागि गाह्रो हुने लगायत क्यान्सरको लक्षण हुन सक्छ ।