Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनतेरसमा चाँदीका भाडाले फलिफाप !

हाम्रो कोशी आवाज
कार्तिक २८ २०७७, शुक्रबार
धनतेरसमा चाँदीका भाडाले फलिफाप !

धरानः तिहारको रौनक शुरु भएसँगै सुनचाँदी पसलहरुमासमेत गहना खरिद–बिक्री गर्नेहरुको चहलपहल बढेको छ । झन्डै सात महिनापछि सुनचाँदी व्यवसायमा चहलपहल भएको हो । कोरोना कहरका कारण सुनचाँदी व्यवसाय झन्डै ठप्पझैं थियो । तिहार नजिकिएसँगै व्यवसायीले चाँदीको खपत बढाएका छन् । तिहारमा चाँदीका सिक्का, गहना एवं विभिन्न प्रतिमाको बिक्री बढ्ने हुँदा व्यवसायीले माग बढाएका हुन् । लक्ष्मी पूजाको अघिल्लो दिन (धन त्रयोदशी) चाँदीको बिक्री धेरै हुने व्यवसायीहरु बताउँछन् ।
दीपावलीको अवसरमा धनतेरसलाई मध्यनजर गर्दै गहना र सुनचाँदीका सिक्काहरू किन्ने प्रचलन बढ्दै गइरहेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गर्न दीपावलीको अवसरमा सुनचाँदीका गहना र सिक्काहरु खरिद गर्ने प्रचलन बढ्दै गइरहेको छ ।
हामी धेरैलाई थाहा छ धन कमाउन मेहनतले मात्र पुग्दैन । भाग्यपनि चम्किनुपर्दछ । अब भाग्य चम्काउने वर्षभरीमा एकदिन त्यस्तो दिन छ त्यस दिनलाई धनतेरस भनिन्छ । धनतरेसको अवसरमा गहना र अथवा केही नयाँ सामान खरिद गर्ने मान्यता विकास हुँदै गइरहेको छ ।
धरानस्थित बराह ज्वेलरीमा सिक्का, लक्ष्मीको मूर्ति तथा गहना खरिद गर्ने विगत केहीदिनदेखि नै भीड लागेको बराह ज्वेलरीका एम्बा ल्वागुनले जानकारी दिए । देवी लक्ष्मीलाई पूजा गर्ने वैदिक परम्परालाई जगेर्ना गर्न धनतरेसका अवसरमा सुनचाँदी तथा हिराका कारोबारमा वृद्धि भएको उनले बताए ।
चाँदीका सिक्का, लक्ष्मीको पाउ, मूर्तिहरु तथा चाँदीजन्य भाँडाकुँडाको माग बढेको र त्यही अनुसार सजिसजाउ गरिएर पसलमा राखिएको उनले बताए । धनतेरसको अवसरमा गहना अथवा कुनै न कुनै सामग्री किनेको खण्डमा शुभमुर्हत हुने धार्मिक विश्वास रहेको छ । सो कारण अधिकांश नेपालीले आफ्नो हैसियतअनुसार नयाँ भाँडा तथा सुनचाँदी खरिद गर्ने प्रचलन मौलाउँदै गएको छ ।
‘धेरै वर्षअघि अधिकांश व्यवसायीलाई धनतेरसमा बत्ती बाल्नुपर्छ, गरगहनाका शोरुम सजाउनुपर्छ भन्ने थाहा थिएन’, बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्मा दियाली भन्छन्, ‘व्यवसायीले लक्ष्मीपूजाका दिनमात्रै बत्ती बाल्थे, सजाउने प्रचलन थिएन । अन्य दिन बजारमा अहिलेजस्तो चहलपहल हुन्नथ्यो । अहिले समय फेरिएको छ, धातुका सामान किन्ने ग्राहकको आकर्षण चाँदी र सुनमा पनि पर्न थालेको छ ।’
तिहारमा चाँदीको सिक्काको माग सबैभन्दा बढी हुने उनले बताए । त्यसबाहेक गहना एवं विभिन्न पूजा सामग्रीको रुपमा चाँदीको माग हुन्छ । गणेश एवं लक्ष्मीको मूर्ति, करुवा, थाली, अम्खोरा, सुकुन्डा, सानो आकारको खड्कुलो लगायतका सामग्री माग हुने गरेको उनले जानकारी दिए । हरेक वर्ष तिहारआउनु अगावै चाँदीका सामग्रीको अर्डर दिने र धनतेरसका दिन लिन आउने चलन रहेको उनले बताए ।
अहिले चाँदीमा उपभोक्ताको आकर्षण थिएन । ‘तिहारमा खरिद गरेको सुनचाँदी र अन्य धातुका सामान टिकाउ हुनुका साथै थप सम्पत्ति आर्जन भई घरमा लक्ष्मीले बास गर्ने र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ’, उनले भने, ‘उपभोक्ता समृद्ध भएमात्र व्यवसाय चल्ने हो । उनले थपे, ‘वर्षभरि आफ्ना लागि व्यापार गरे पनि धनतेरसका दिन उपभोक्ताको समृद्धिको कामना गर्दै केही छुटका साथ गरगहना बिक्री गर्छौ ं।’
अझ माता लक्ष्मीलाई सेतो धातु चढाउँदा फलिफाप हुन्छ भन्ने पौराणिक मान्यता छ । हरेक वर्ष कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन अर्थात् धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाइन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने प्रचलन छ । यो दिनलाई धनका देवता कुवेरको जन्मदिन र आयुर्वेदका प्रवद्र्धक धनवन्तरी दिवस पनि हो । यसदिन नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ ।
तस्वीरः हाम्रो कोशी आवाज

 

 

!

प्रकाशित मिति: कार्तिक २८ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend