धरानः कोरोनाका कारण लामो समय बन्द भएको पर्यटन क्षेत्र विस्तारै खुकुलो हुँदै गएको छ । सरकारले कोभिड–१९ संक्रमण फैलिरहेको अवस्थामा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नयाँ क्षेत्र खुल्ला गरेको हो ।
विदेशी पर्यटकलाई कात्तिक १ देखि हिमाल आरोहण र पदयात्रा खुल्ला गरेको सरकारले अब समूहमा आउने पर्यटकलाई साहसिक पर्यटनसँगै जंगल सफारी, हेरिटेज साइट सिनलगायतका क्षेत्रमा पनि घुम्न दिने बताएको छ ।
कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटन क्षेत्रका थप गतिविधि खुल्ला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
‘अहिले हिमाल आरोहण र पदयात्रामा बाहेक अरु क्षेत्रका लागि पनि आउन दिने भनेको छ’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल प्रसाद भट्टराईले भने, ‘सिंगल आएर आफूखुसी भने घुम्न पाउनेछैनन् । ग्रुपमा आउनेलाई अनुमति दिने भनेको छ ।’
चैत ११ देखि सबै ठप्प रहेको पर्यटन क्षेत्र साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खुल्ला गर्ने निर्णय गरेको थियो ।
भट्टराईका अनुसार अब नेपाल आउने पर्यटकले ट्राभल एजेन्सीमार्फत नेपाल आएर सबै साहासिक पर्यटन क्षेत्र, जंगल सफारी, हेरिटेज साइट सिनलगायतका गतिविधि पनि गर्न पाउनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले केबलकार, साहसिक पर्यटन, जंगल सफारी, संग्रहालयलगायतका पर्यटनसँग सम्बन्धित सेवा सुचारु गर्न स्वीकृत दिएको छ । सो सेवा सञ्चालन गर्न सम्बन्धित निकायले मन्त्रालयले तोकेको मापदण्ड पालना हुने गरी सञ्चालनमा ल्याउन सक्नेछन् ।
पर्यटन मन्त्रालयले सेवा प्रदायक संस्थालाई स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न अनुरोध गर्दै मातहतका निकायहरुलाई मापदण्ड पालना भए, नभएको नियमित अनुगमन गर्न निर्देशन समेत दिएको छ ।
