धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूटिन ओटी (शल्यक्रिया) सेवा आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
जनशक्ति अभावले रोकिएको शल्यक्रिया सेवा थालिने भएको हो । यसअघि एक महिनायता आकस्मिक तथा अर्ध आकस्मिक प्रकृतिका शल्यक्रियाहरू मात्र सञ्चालनमा थिए ।
गत कार्तिक २७ गते बसेको ओटी युर्जस कमिटीको बैठकले आइतबारबाट शल्यक्रिया समेत सुचारू गर्ने निर्णय गरेको सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले बताए । ‘नर्सिङ जनशक्तिमा धेरै कोभिडको संक्रमण पाइएपछि जनशक्तिको अभाव भएकाले महिनायता शल्यक्रिया सेवा बन्द रहेको थियो,’ बरालले थपे, ‘नर्सिङ जनशक्तिलाई अन्य आकस्मिक सेवा कोभिड र डाइलासिसमा अत्यावश्यक परेकोले सो सेवा बन्द रहेको थियो । नयाँ नर्सिङ जनशक्ति नियुक्ति भएसँगै पूर्ण क्षमतामा सो सेवा सञ्चालनमा आएको हो ।’

