Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मध्यपहाडी लोकमार्गः २०८० मा नसकिने !

हाम्रो कोशी आवाज
मंसिर ४ २०७७, बिहिबार
मध्यपहाडी लोकमार्गः २०८० मा नसकिने !

धरानः मध्यपहाडको लाइफ लाइन मानिएको मध्यपहाडी लोकमार्ग आयोजना लक्षित अवधिमा सम्पन्न हुन नसक्ने भएको छ ।
पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म कुल कुल १८७९ किलोमिटर लामो यस सडक आयोजनाका विभिन्न खण्ड हेर्दै आएका इन्जिनियरहरुले दिएको जानकारीअनुसार यसको निर्माण पूरा हुने अवधि कम्तिमा पनि पाँच वर्ष पछाडि धकेलिने भएको हो ।
२०६४ सालबाटै सुरु भएको आयोजनाको १३ वर्ष बित्दा लक्ष्यको ५० प्रतिशत पनि काम सकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयले दिएको जानकारीअनुसार अहिलेसम्म यसको भौतिक प्रगति जम्मा ४८.९४ प्रतिशत छ । आयोजनाका लागि छुट्याइएको बजेट समेत राम्ररी खर्च हुन सकेको देखिँदैन । निर्देशनालयका अनुसार यसको वित्तीय प्रगति जम्मा ५३.२४ प्रतिशत छ ।
यस लोकमार्गको कुल लम्बाइमध्ये जम्मा ४८.६१ प्रतिशत (९१३.३ किमी) खण्ड मात्र कालोपत्रे भएको छ । यसै पनि सुस्त गतिमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणको काम पछिल्लो समय कोभिड–१९ ले केही महिना कामै ठप्प हुँदा झन् पछाडि धकेलिएको हो । कोभिडकै बीच लोकमार्गको काम पुनः शुरु गरिएको भए पनि यो अझै फुल फ्लेजमा अघि बढ्न सकेको छैन ।
अहिले आयोजनाको केही खण्डमा मात्रै काम भइरहेको छ । ती खण्डमा पनि अत्यन्तै धिमा गति रहेको पाइएको छ । यसका बाबजुद काम भने नरोकिएको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका इन्जिनियर सुरज अधिकारी बताउँछन् । कोरोनाका कारण असर परेपनि काम जारी रहेको उनको दाबी छ । यसका बाबजुद कोरोना कहर नभएको भए पनि २०८० सालमा यो लोकमार्ग पूरा गर्ने लक्ष्य भने पूरा हुने सम्भावना नै नरहेको र कोरोनाले आयोजना थप पछाडि धकेलेको उनले बताए ।

यो आयोजनाको सडकका लागि दायाँ–बायाँ दुवैतर्फको सीमा (राइट अफ वेज) अहिलेसम्म पनि निर्धारण नभएकाले जग्गा अधिग्रहणमै समस्या छ । आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्नुमा यो सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ ।
आयोजनाका कतिपय खण्ड एशियाली विकास बैंक लगायतको वैदेशिक सहायतामा बनेको हुँदा ती खण्डको सडकमा परेको जग्गाधनीले मुआब्जा पाएका छन् भने नेपाल सरकारले अघि बढाएको सँगै जोडिएको कित्तामा पर्ने सडकमा गएको जग्गालाई भने मुआब्जा दिइएको छैन । यसले गर्दा जग्गा अधिग्रहणमा ठाउँ ठाउँमा स्थानीयको विरोध र सडक निर्माणमा अवरोध छ । त्यस्ता जग्गालाई मुआब्जा वितरण नगर्दा सडक रेखांकनमा नै विवाद हुने गरेको आयोजनाले कार्यालयहरुले जनाएका छन् ।
‘राष्ट्रिय यातायात नीति २०५८’ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा नेपालको मध्यपहाडी भूगोल भएर पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । त्यहीबमोजिम सरकारले मध्यपहाडी (पुष्पलाल) राजमार्ग नामाकरण गरी वर्ष २०६४–०६५ बाट आयोजना थालिएको हो ।
मध्यपहाडका २६ जिल्लाहरुका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ ।
पाँचथरमा रहेको कार्यालयले परियोजना शुरु भएको १३ वर्षमा जम्मा २० प्रतिशत काम मात्रै सकेको छ । यो कार्यालयले पाँचथरको चियो भन्ज्याङ, गणेश चोकदेखि भोजपुरको लेगुवाघाटसम्म ३८६ किमी हेर्छ । पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर यसको कार्य क्षेत्र हो । यस खण्डमा हालसम्ममा ७९.५ किमी सडक मात्र कालोपत्रे भएको छ । यो यस कार्यालयको जिम्मामा रहेको कुल सडक लम्बाईको करीब २० प्रतिशत मात्र हो ।
त्यसमध्ये पनि गत आवमा तमोर–संक्रान्ति–म्याङलुङ (तेह्रथुम) ३४ किमी र भोजपुर चखेवा (भोजपुर) ६ किमी गरी कुल ४० किमी कालोपत्रे भएको थियो । यस्तै, ओयाम खोला, कोर्या खोला, छांगे खोला गरी पाँचथरमा तीनवटा पुल निर्माण भएका छन् ।
कार्यालयले यो वर्ष तमोर–संक्रान्ति–म्याङलुङ (तेह्रथुम) २४.८ किमी, धनकुटाको वसन्तपुरदेखि म्याङलुङ २५.५ किमी, हिले–लेगुवा (धनकुटा) १०.७ किमी, भोजपुर–दिक्तेल खण्डको भोजपुरमै पर्ने १४ किमी सडक कालोपत्रे गरिसक्ने लक्ष्य राखेको छ । पाँचथरका सुक्खा खोला र खण्डुवा खोला, खोरगा खोला पुल (तेह्रथुम), मङ्माया खोला (धनकुटा) मा तीन निर्माण सक्ने लक्ष्य छ ।

प्रकाशित मिति: मंसिर ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend