धरानः धरानका मठ मन्दिर अब खुल्ला हुने भएका छन् । विशेषतः महामारीबाट जोगाउँदै, जोगिँदै मन्दिर खुलाउने निर्णय भएको छ ।
धरान–१४ मा रहेका मठ–मन्दिर कोरोना महामारीले प्रभावित बनेको छ । ‘सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दै भोलिदेखि मठ–मन्दिर खोल्ने निर्णय भएको छ, दर्शनको लागि अनिवार्य स्वास्थ्य मापदण्ड पुरयाएको हुनुपर्छ, भौतिक दुरीलाई कडाइका साथ पालना गराउनुपर्नेछ ।’ धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने ।
संघीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राई, जनप्रतिनिधिसहितको छलफलले यस्तो निर्णय गरेको उनले जानकारी दिए । ‘वडाअध्यक्षको संयोजकत्वमा चारै वटा मन्दिर व्यवस्थापन समिति, प्रहरी, वडा सचिवलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ’, उनले भने ।
वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले अर्को निर्णय नभएसम्मका लागि मठमन्दिर पूर्ण रुपमा नखोलिने तर स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिने बताए । उनका अनुसार भीडभाड भए नगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरीलाई पनि आवश्यकता अनुसार परिचालन गरिनेछ ।
चैत ११ देखि धरानका प्रसिद्ध मन्दिर बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, पञ्चकन्यालगायत मन्दिर बन्द छन् । बीचमा मन्दिर नखुलेपनि भक्तजन फाट्टफुट्ट पुग्ने गरेका थिए ।
कोरोना महामारीअघि बुढासुब्बा मन्दिरमा भक्तजन । तस्वीर फाइलः हाम्रो कोशी आवाज


