धरानः धरान-१२ स्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ग्रुपले सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्था लि. ले खुद मुनाफा २ करोड बढी आर्जन गर्न सफल बनेको छ ।
कोरोना महामारीका बीच पनि विशेष सुरक्षा सावधानी अपनाउँदै आइतबार बराह किचनमा आयोजित ११ औं वार्षिक साधारणसभा भएको थियो । कार्यक्रममा अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली) ले प्रस्तुत गरेको प्रतिवेदनमा २ करोड ४८ लाख ७९ हजार ५ सय २ रुपैयाँ ८९ पैसा खुद मुनाफा गर्न सफल भएको जानकारी दिए ।
१४ महिला र १८ पुरुषको सहभागितामा जन्मिएको बराह बचतको हालसम्मको शेयर सदस्य ३१ सय १२ महिला र १६ सय ४३ पुरुष गरी जम्मा ४७ सय ५५ जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा यस्तो महामारीको बेला पनि गत वर्षको तुलनामा ४३ प्रतिशतले शेयर पुँजीमा वृद्धि र शेयर सदस्यमा पनि ३५ प्रतिशतले वृद्धि भएको जानकारी दिइयो ।
यस्तै, २०७७ असार मसान्तसम्ममा शेयर रकम ९ करोड ३९ लाख ८६ हजार रूपैयाँ छ भने ऋण लगानी ८३ करोड, २० लाख ५९ हजार ९ सय ३५, निक्षेप संकलन ८३ करोड, १७ लाख १ हजार २ सय ६७ रुपैयाँ रहेको जनाइएको छ भने ऋण लगानी ८३ करोड २० लाख, ५९ हजार ९ सय ३५ रुपैयाँ रहेको छ ।
संस्थाले वर्षेनी लाभांश रकम पनि बढाउँदै लगेको छ । २०७१-०७२ सम्ममा लगानी गर्ने शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश बाँडेको संस्थाले ०७२-०७३ मा १३ प्रतिशत, ०७३-०७४ मा १४ प्रतिशत, त्यस्तै, आ.व. ०७४-०७५ मा १५ र २०७५-०७६ मा १६ प्रतिशत लाभांश बाँडेको अध्यक्ष दियालीले जानकारी दिए । यस्तै, यसवर्ष १५ प्रतिशत लाभांश वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।
संस्थाले जगेडा कोषमा वृद्धि गरी २ करोड ७ लाख १९ हजार १ सय ५४ रुपैयाँ पुरयाएको छ । संस्थाले नेपाल सरकार अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबाट उत्पादनको क्षेत्रमा लगानी गर्ने शेयर सदस्यलाई ऋण प्रवाह गर्न पहिलो चरणको ऋण चुक्ता गरी दोस्रो चरणको समेत गरी १ करोड २५ लाख ऋण प्रवाह गरेको जनाइएको छ । यस्तै, हाल ५ सय जनालाई रोजगारी पनि सिर्जना गरिरहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष दियालीले अबका दिनमा संस्थालाई अझै सुदृढ गर्न विविध योजना तर्जुमा रहेको पनि सुनाए । उनले लेखा प्रणालीलाई सशक्त र जिम्मेवार बनाइने, सदस्यलाई नियमितरुपमा बचत गर्न उत्प्रेरित गरी आर्थिक रुपमा सबल बनाइने, संस्थाको शेयर तथा निक्षेप वृद्धि गरिने, ऋणको दायरा फराकिलो बनाइने, शेयर सदस्यको चाहनाअनुसार उत्पादन, कृषि, परम्परागत पेशा, व्यवसायमा लगानी, प्रतिभावान शेयर सदस्यलाई आवश्यक सहयोग र कदर साथै शेयर सदस्यको छोराछोरी, श्रीमती, बुबाआमा स्वर्गारोहण हुँदा श्रद्धाञ्जली अर्पण साथै आर्थिक सहयोग गरिने, बराह विशेष बचत तथा खुत्रुके बचन कार्यक्रमलाई प्रभावकारी पारिने जानकारी दिए ।
कार्यक्रममा बराह प्रोत्साहन पुरस्कारबाट फूलकुमारी लिम्बू, दिलबहादुर विक, विजया खनाल, लक्ष्मी कट्टेल, रेवती श्रेष्ठ सम्मान गरियो । यस्तै, सक्रिय अभियन्ता विन्जु श्रेष्ठ, कल्पना कालिकोटे, सविना बराइली, मेनुकादेवी धमला, कमला बस्नेत, जोत्सना राई, पुष्पा घिमिरे, सङ्गीता ताम्राकार, देववीर बज्राचार्य, कल्पना राई, दिलकुमारी तामाङ, इन्दिरा शर्मा र सविना गुरुङलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट फिल्ड कर्मचारीहरुमध्ये उत्कृष्ट संकलनकर्ता बालकुमार राई, उत्कृष्ट संकलनकर्ता रमा डुम्जन, उत्कृष्ट संकलनकर्ता कमला श्रेष्ठलाई पनि सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, जिल्ला सहकारी संघ लि. का वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारम, धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रशासकीय अधिकृत गंगा कालिकोटेले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य साकोषका सञ्चालक सदस्य अम्बरबहादुर विश्वकर्मा (सौराज) ले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष इवारमले बराह शेयर पुँजीका हिसाबले सुनसरीकै अग्रणी संस्थाको रूपमा रहेको बताए ।
तस्वीरः लक्ष्मण थापा











