धरानः शिङ्साबा भोटिया परदेश १ मात्र नभै धरानमा समेत अल्पसंख्यक र अति सीमान्तकृत भएकोले बजेट उपलब्ध गरिएको सांसद जयकुमार राईले बताएका छन् ।
सांसद राईलाई बजेट विनियोजन गरिदिएको भन्दै सधन्यवाद ज्ञापन गर्दै खादा लगाई स्वागत गरिएको छ । सोही क्रममा सांसद राईले मतदाताको संख्या हेरेर होइन राज्यको नीति अनुसार पछाडि परेको समुदायको लागि भनेर बजेट विनियोजन गरेको स्पष्ट पारे। उनले धेरै वर्ष अगाडिदेखि यस समुदायले बजेट माग गर्दै आएको उल्लेख गर्दै यो वर्ष सांसद क्षेत्र विकास कोषबाट १० लाख बजेट विनियोजन भएको बताए ।
यसअघि मुस्लिम समुदायको कबरस्थान निर्माण गर्नको लागि भनेर १० लाख विनियोजन गरेकोमा उनीहरुले २५ लाख बराबरको काम गरेको पनि उनले उल्लेख गरे । शिङ्साबा भोटिया समुदायको सामाजिक आर्थिक अवस्थाबारे आफूलाई धेरै जानकारी भएको भन्दै पछाडि परेको समुदायको हितमा काम गर्दा उनीहरुको मतदाता हेर्न जायज नभएको उनको भनाइ थियो । चालू आर्थिक वर्षको सांसद क्षेत्र विकास कोषबाट यस समुदायको लागि भनेर १० लाख विनियोजन भएको छ ।