Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाषा परीक्षा नहुँदा कोरियामा रोजगारको अवसर गुम्यो, १० हजार युवा अन्योलमा

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
भाषा परीक्षा नहुँदा कोरियामा रोजगारको अवसर गुम्यो, १० हजार युवा अन्योलमा

नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य मानिएको कोरियाको रोजगारी कोरोना महामारीको चपेटामा परेको छ। कोरियाबाट रोजगार सम्झौता पत्र (लेवर कन्ट्रयाक्ट) भई सिसिभिआई आएका युवा र बिदामा नेपाल आएका युवाहरुसमेत कोरियाको रोजगारीमा जान नपाएपछि यसको प्रत्यक्ष असर नेपाली श्रम बजारमा परेको हो। नेपालीहरू कहिलेदेखि कोरियाली रोजगारीमा जान पाउँछन् भन्ने विषय अझसम्म पनि निश्चित भइसहेको छैन ।
भएन भाषा परीक्षा, गुम्यो ७ हजार युवाको अवसर
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हरेक वर्ष हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष (सन् २०२०) मा नहुने भएसँगै करिब ७ हजार नेपाली युवाको रोजगारीको अवसर गुमेको छ। हरेक वर्ष हुँदै आएको कोरियाली भाषा परीक्षामा पछिल्ला वर्षमा ८० हजारभन्दा बढी युवाले परीक्षा हुँदै आएका थिए। तीमध्ये १० हजारभन्दा बढीले भाषा तथा सीप परीक्षण उतीर्ण गर्ने करिब ७ हजारको हाराहारिमा नेपाली श्रमिक कोरियाली रोजगारीमा प्रवेश गर्ने गरेका थिए। तर कोरोनाका कारण यो वर्ष इपिएस भाषा परीक्षा नै नभएपछि करिब ७ हजार युवाहरुको कोरिया रोजगारीको अवसर गुमेको हो ।
गत वर्ष (२०१९) को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरु सहभागी थिए । सहभागीमध्ये १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए। भाषा परीक्षाा उत्तीर्ण गरेकै मध्येबाट दक्षिण कोरियाले १० हजार ५० जना कामदार लैजाने उल्लेख गरेको थियो ।
अघिल्लो वर्ष भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका करिब ५ हजारको लेबर कन्ट्रयाक्ट आइसकेको इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए । ‘अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण हुनेमध्ये करिब ५ हजारको त लेबर कट्रयाक्ट नै आइसकेको छ । त्योभन्दा अघिल्ला वर्षमा रोस्टरमा पर्नेहरु पनि हुनुहुन्छ । बिदामा फर्किएकाहरु पनि कोरोनाका कारण जान पाउनु भएको छैन,’ निर्देशक गौतमले भने ।
रोस्टरमा नाम रहेका तथा सिसिभिआई आएका व्यक्तिहरु पनि कोरोना महामारीका कारण रोकिएका छन् । उनीहरु कोरियाली रोजगारीमा कहिले जान पाउने भन्ने सन्दर्भमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको र त्यसको जवाफ आइ नसकेको शाखाका निर्देशक गौतमले जानकारी दिए ।
१० हजारभन्दा बढीको रोजगारी अन्योल
कोरोना महामारीका कारण रोस्टरमा नाम रहेका तथा लेबर कन्ट्रयाक्ट, सिसिभीआई प्राप्त गरेका त्यस्तै गरी बिदामा स्वदेश फर्किएर अड्किएका १० हजारभन्दा बढी युवाको रोजगारी यतिबेला अन्योल बनेको छ ।
कोरियाको कृषि क्षेत्रमा काम गर्दै नेपाली युवाहरू।
अघिल्लो वर्ष र त्योभन्दा दुई वर्षअघि भाषा परीक्षा पास गरी भिसाको पर्खाइमा रहेकाहरु समेत अलमलमा छन्। उनीहरूका सम्बन्धमा कुनै पनि निर्णय आइसकेको छैन। कोरोनापछि नेपाली श्रमिकहरु लैजान कोरिया सरकारले चासो देखाएको छैन। नेपालले सबै देशका लागि श्रम स्वीकृति तथा भिसा खुल्ला गरेपनि कोरिया सरकारले रोस्टरमा रहेका तथा बिदामा आएका श्रमिकहरुलाई कोरिया प्रवेशको अनुमति दिएको छैन ।
‘रोस्टरमा रहेकाहरुको नाम दुई वर्षपछि मात्रै हट्छ। केहीको रोस्टरबाट नाम हटिसकेको अवस्था पनि छ। भिसा सकिने अवस्थामा रहेकाहरुको भिसा अवधि थप्ने सम्बन्धमा हामीले अनुरोध गर्दै पत्रचार गरेका छौँ। त्यसको जवाफ आएको छैन,’ शाखाका निर्देशक इन्द्र गौतमले भने। उनका अनुसार कोरोना महामारीका कारण कामदार भर्ना प्रकृयामा आएको अप्ठ्यारो परिस्थितिमाथि रोजगार सम्झौता (एमओयु) अनुसार अघि बढ्ने गरी तयारी गरिएको छ।
यससम्बन्धमा दुई देशबीच छलफल प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ। कोरियाले केही समयभित्रै नेपाली श्रमिकहरु लैजान सुरु गर्ने उनको विश्वास छ। बिदामा आएका तथा भिसा अवधि सकिन लागेको अवस्थाका श्रमिकहरुले यस अघि कोरियाली रोजगारीमा सहजीकरण गरिदिन अनुरोध गर्दै प्रदर्शन पनि गरेका थिए।
त्यसपश्चात सरकारले कोरियाली रोजगारीमा देखिएको कठिनाइमा सहजीकरण गरिदिने उल्लेख गरेपनि समस्याको समाधान हुन सकेको छैन। नेपाल सरकारले केही समय अगाडि नै पत्राचार गरे पनि त्यसको जवाफ नआएपछि पुनः पत्राचार गरिएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ।
२०२१ का लागि भाषा परीक्षाको तयारी
इपिएसअन्तर्गत आगामी वर्ष २०२१ का लागि भने भाषा परीक्षाको तयारी थालिएको छ । यसको टुंगो आगामी जनवरीदेखि फेब्रुअरीसम्ममा लाग्ने शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए। कोरियाले २०२१ मा कति कामदार लैजाने भन्ने सन्दर्भमा भने अहिलेसम्म टुंगो लागि नसकेको उनको भनाइ छ ।
किन आकर्षक कोरिया रोजगारी?
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कोरियाली रोजगारीमा नेपाली युवाको आकर्षण बढी छ। सन् २००८ देखि इपिएस प्रणालीमार्फत् नेपाली युवाहरु रोजगारीमा कोरिया गइरहेका छन्।
नेपाली युवा जाने निर्माण तथा कृषिजन्य काममा नेपाली युवाका लागि अन्य गन्तव्यभन्दा तुलनात्मक रूपमा कमाइ बढी हुने भएकाले नेपालीहरु कोरियाप्रति आकर्षित छन्। इपिएस प्रणालीमार्फत् हालसम्म झन्डै ७० हजार नेपाली युवाहरुले कोरियाली रोजगारीको अवसर पाएका छन्।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend