धरानः धरानस्थित निशान बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको छ । यसको कार्यालय धरान-६ स्थित पानबारीमा रहेको छ ।
गए राति त्यहाँ चोरी भएको हो । संस्थाको भवन रहेको स्थानको ग्रिल खोलेर चोर पसेको सिसी क्यामेराको फुटेजले देखाएको प्रहरीले जनाएको छ । पानबारी प्रहरी इन्चार्ज सई भेषराज राउतका अनुसार चोरी भएको स्थानमा अहिले प्रहरी पुगेको छ ।
पानबारी प्रहरी र इलाका प्रहरी कार्यालय धरानको टोली त्यहाँ पुगेको हो । ‘अहिले मुचुल्का उठाउने काम भइरहेको छ’, उनले भने, ‘सिसी टिभीको फुटेजमा केही युवाले चोरी गर्दै गरेको देखिन्छ, लकरबाट पैसा समेत निकालिएको देखिएको छ तर अहिले यति नै रकम चोरी भयो भन्ने अवस्था भने छैन ।’
उनलाई सञ्चालकले दिएको जानकारीअनुसार लकरमा अन्दाजी १० लाख रुपैयाँ थियो । ‘लकरमा १० लाख रुपैयाँ थियो भन्नेसम्मको कुरा आएको छ तर यति रकम भन्ने नै खुलिसकेको छैन,’ उनले भने । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनामा संलग्नको खोजी तीब्र पारिएको जानकारी दिए ।
बिहान सफाइ कर्मचारी आउँदा सहकारीको झ्याल फुटेको देखेपछि उनले सहकारीका अध्यक्ष चन्द्र सुवेदीलाई खबर गरेका थिए । सिसी क्यामरामा हेर्दा चोरी गर्ने व्यक्तिहरूले पिपिई र मास्क लगाएर आएकोले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । संस्थाको झ्याल र ग्रिलको सटर फुटाएर तीन जना व्यक्ति कार्यालयमा प्रवेश गरेको देखिएको उनले जानकारी दिए ।