धरानः धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै भवनबाट कारोबार शुभारम्भ गरेको छ ।
धरान–९ आचार्यलाइनमा रहेको आफ्नै भवनबाट कारोबार शुरु गरेको हो । बुधबार एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गरियो । अध्यक्ष मानबहादुर मगरले आफ्नै भवनबाट एटिएमसहितको कारोबार शुरु भएको जानकारी गराए । संस्थाले आफ्नै भवनबाट कारोबार सञ्चालन गरी बाँकी भुइँतल्ला र पहिलो तल्ला भाडामा लगाउने जनाइएको छ ।
जिल्ला सहकारी संघ लि. सुनसरीका वरिष्ठ उपाध्यक्ष एवं धरान नगर सहकारी विकास समिति धरानका संयोजक नरेशकुमार इवारमले सो भवनको उद्घाटन गरे ।
यसैबीच संस्थाको १० औं साधारणसभा पनि सम्पन्न भएको छ । संस्थाले यस वर्ष मात्रै ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँको कारोबार गर्न सफल बनेको छ । अघिल्लो आवमा ४४ लाख २६ हजार ८ सय ६७ रुपैयाँको कारोबार गरेको संस्थाले यस वर्ष १०.२० प्रतिशतले वृद्धि भई यतिको कारोबार गर्न सफल बनेको अध्यक्ष मगरद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । यस्तै, संस्थाले ७ करोड २४ लाख १० हजार ५ सय ४२ रपैयाँको कुल आम्दानी गरेको छ भने ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल बनेको छ ।
प्रतिवेदनअनुसार गत आवमा ६ करोड ८८ लाख २१ हजार ७ सय ३ रपैयाँ कुल आम्दानी गरेको संस्थाले गत वर्ष नै खुद मुनाफा ५२ लाख ७७ हजार ७ सय ११ रुपैयाँ गरेको थियो । यस वर्ष खुद मुनाफा भने घटेको हो । यस्तै, संस्थाले गत वर्ष ३७ करोड २४ लाख ४० हजार १ सय १४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने यस आवमा २.५९ प्रतिशतले वृद्धि भई ३८ करोड २३ लाख ७३ हजार २ सय ८५ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मगरले शेयर सदस्यभित्रको गरिब, असहायलाई विशेष तालिमको व्यवस्था गर्दै आत्मनिर्भर बनाइने पनि जानकारी दिए । झरना प्रदेश १ मै उत्कृष्ट कारोबार गर्नेमा पुरस्कृत भएको संस्था भएको जनाइएको छ ।
तस्वीरः लक्ष्मण थापा








