धरानः ‘फूलबुट्टे सारी’ बोलको नेपाली गीत अहिले चर्चामा छ । ‘फूलबुट्टे सारी’ बोलको गीत अहिले सबैको मुखमा झुन्डिएको छ । सामाजिक, सञ्जाल, टिकटक, युटयुब जताततै यो गीतले सबैको मन मनमा छ । भनौं अहिले टिकटकमा ‘फूलबुट्टे सारी’ बोलको गीतमा भिडियो नबनाउने प्रयोगकर्ता कमै होलान् । नबनाउनेले पनि यो गीत पक्कै सुनेका छन् । भन्नैपर्दा टिकटककै कारण फूलबुट्टे सारी चर्चामा छ ।
व्यवसायीका अनुसार सारीको चर्चा मात्रै चुलिएन, व्यापार पनि चुलिन थाल्यो । ‘गीत मात्रै कहाँ चर्चामा हो र सारीले समेत बजार लिइसक्यो,’ धरानका कपडा व्यवसायी संघका अध्यक्ष तथा धरान–१२ स्थित न्यू क्वालिटी स्टोरका जीवन अग्रवालले भने, ‘धरानको मेरो न्यू भेराइटी पसलमा मात्रै होइन, काठमाडौं रहेको पसलमा पनि यस्तै साडीको माग बढी छ ।’
उनले अन्य कपडाको व्यापारमा मन्दी आएको बताए । कोरोना कहरपछि चाडबाडमा मात्रै थोरै मात्रामा बिक्री भएको र अहिले व्यापारमा मन्दी छाएको बताए । ‘कोरोनाको कहर, लकडाउनले मानिससँगै पैसा नै छैन, पैसा नभएपछि के ले सामान किन्नु, यतिबेला मन्दी छाउनु स्वभाविक हो ।’
‘फूलबुट्टे सारी’ बोलको गीत चर्चामा आएपछि सारी खोज्दै दिनहुँ आउने गरेको धरान-२ रत्नरोडस्थित वुमन्स वल्डका सञ्चालक विकास अग्रवाल बताउँछन् ।
‘एकाएक चर्चामा आएको यो गीतपछि धरानमा फूलबुट्टे सारी खोज्ने पनि बढ्न थालेका छन्, चर्चासँगै अधिकांशको मनमा यसले डेरा जमाउँदै व्यापार पनि बढाएको छ,’ उनी थप्छन् ।
अहिले दिनमा १५-२० वटासम्म बिक्री हुने गरेको उनले बताए । फूलबुट्टे सारी सिम्पल र सस्तो दाम पर्ने हुनाले पनि अधिकांशको रोजाइमा पर्ने गरेको उनले जानकारी दिए । ‘सुपथ मूल्यमै सारी उपलब्ध हुन्छ, कोरोनाबाट सर्तक हुनका लागि सारीमा मास्क पनि दिइएको छ, वेल्टवाला पनि छ, राम्रो पनि छ, त्यसैले यसतर्फ महिलाको आकर्षण बढेको हो ।’
उनले योसँगै शिल्क सारीको पनि माग बढिरहेको बताए । ‘खासमा नढाँटी भन्नुपर्दा अन्य सामग्री त कोरोना कहरले बिक्री हुनै छाड्यो, फूलबुट्टे सारी र शिल्क सारीले बजार जमाएको छ ।’
यो सारी विशेषतः बनाउन मिल्ने, रेडिमेट पनि पाइन्छ । यो सारी साह्रै सस्तो पनि छ । यो ६ सयदेखि ३ हजार रुपैयाँसम्म पर्ने गर्दछ । शिल्क सारीको ४ हजार रुपैयाँदेखि माथि पर्छ । डिजाइन पनि आउट पनि नहुने, हेर्दा चिटिक्कै बनाइदिने, राम्रो पनि देखिने, सबैको पहुँचमा पुगेको र फेसनकै कारणले पनि यसको माग बढेको उनी बताउँछन् । ‘यो अहिले फेसनकै कारण चलेको हो, अन्य सारीहरु आयो बिक्री भयो, सकियो हुने गर्दछ तर फूलबुट्टे सारी हराउन सक्दैन, बरु डिजाइन फरक पर्ला, वर्षौवर्ष रहन्छ ।’
विशेषतः मङ्सीर महिना विवाहको सिजन पनि भएकोले सारी लगाउने जमात बढेको र फूलबुट्टे साडी नै रोज्ने गरेको व्यवसायी प्रदीप अग्रवाल बताउँछन् । ‘पहिलो कुरा त गीतले नै हिट बनायो, टिकटकमा देखिएको जस्तो पाइँदैन भनेर आउन थालिसके’, उनले भने, ‘अहिले अन्य सामान बिक्री हुन छाड्यो तर फूलबुट्टे सारीले पसल धानिरहेको छ ।’
हुन त यसअघि पनि फूलबुट्टे सारी बजारमा नभएको होइन । उनले फूलबुट्टे सारी पहिला नै आएको भएपनि गीतले नै झन माग बढाएको बताए ।
गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको गीत १२ वर्षअघिको हो । उनले १२ वर्षअगाडि नै यस गीत तयार गरेका थिए । गायक मार्मिक लामाको स्वरमा गीत रेकर्ड भएको थियो । तर त्यतिबेला चर्चामा थिएन । गीत गुमनाम थियो । अहिले चर्चामा छ । टिकटकमा ‘फूलबुट्टे सारी’ गीतमा धमाधम टिकटक भिडियो बन्न थाल्यो । राम्रो फलोअर्स कमाएका टिकटकरले पनि यस गीतमा भिडियो बनाएपछि गीतले एक्कासी चर्चित बन्यो ।
धरानमा व्यापार मन्दी, ग्राहक आउँदैनन्, मोबाइल चलायो बस्यो
कोरोनाको असर धरानका व्यापारीमा पनि देखिन थालेको छ । व्यापारीहरूको अवस्था त झन बिजोग नै छ । अधिकांश पसलेहरु मोबाइल चलाउनमै व्यस्त देखिन्छन् । ‘चाडबाडमा अलि अलि व्यापार भयो, त्यसले स्टाफ खर्च र कोठाभाडामै सीमित भइयो’, प्रदीप भन्छन्, ‘मानिसको आम्दानी गुमेको र घटेको कारण पनि यस्तो भएको हो ।’
‘व्यापारमा मन्दी छ, चहलपहल छैन, कसरी टिक्ने भनेर सोच्दै बस्दै आएका छौं,’ व्यवसायी मनोहर अग्रवाल भन्छन्, ‘स्टाफहरु सबै मोबाइल चलाउँदै बस्नुबाहेकको विकल्प छैन ।’
मुना थापाले व्यवसायमा मन्दी आएको कोरोना कहर शुरु भएदेखि नै भएको बताइन् । पहिला पहिला दिनमा सयौं ग्राहक झुम्मिने पसलमा अहिले फाट्टफुट्टमात्रै आएको गरेको उनको भनाइ छ । ‘ग्राहक नहुँदा कोठा भाडा कसरी तिर्ने, कसरी जीविका चलाउने होला भन्ने पीडा पो थपिँदै गएको छ ।’ उनले भनिन् ।
दिनभर बसेर घर फर्किँदै आएको अधिकांश व्यवसायीको गुनासो छ । ‘हाम्रो मात्रै होइन सबैको पसलको हालत यस्तै छ, डामाडोल अवस्था छ,’ मनोहर भन्छन्, ‘घरभाडा, बैंकको किस्तालगायतमा समस्या देखिने भयो ।’


















