Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हजारौं गायक जन्माउने कामतले इटहरीमा खोले संगीत पाठशाला

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
हजारौं गायक जन्माउने कामतले इटहरीमा खोले संगीत पाठशाला

धरानः शास्त्रीय तथा आधुनिक संगीतमा करिब ४० वर्ष लामो समय केन्द्रीय राजधानी काठमाडौंमा हजारौं गायक जन्माएका महान गुरु गुरुदेव कामतले सुनसरीको इटहरीमा आफ्ना संगीत पाठशालाको थालनी गरेका छन् ।
नेपालका ख्याति प्राप्त आधुनिक तथा साशस्त्रीय संगीतका गायक तथा कलाकार समेत रहेका कामतले इटहरीको उपमहानगरपालिकाको मूलगेट पश्चिम अंकुर बचत तथा सहकारी भएको भवनको माथिल्लो तलामा ‘श्री गुरु संगीत पाठशाला नामक केन्द्र’ को स्थापना गरी पुस १ गतेबाट औपचारिक विद्यार्थी भर्नासँगै सो संगीत विद्यालयको सुरुवात गर्न लागेका हुन् ।
दिनप्रतिदिन नेपाली समुदायको जनघनत्व वृद्धि भइरहेको र नेपाली मूलका समुदाय गीत तथा संगीतप्रति अभिरुचि बढ्दै गएको हुँदा नेपाली समुदायको संगीत विद्यालय आफ्नै गाउँठाउँमा नै खोलिएको कामतले जानकारी दिए । विद्यालयको बारेमा उनले थप जानकारी गराउँदै यस विद्यालयमा शास्त्रीय तथा आधुनिक गीत संगीतका सबै विषय समेट्ने बताएका छन् ।
‘काठमाडौ सहरका गल्लीपिच्छे संगीत इन्स्टिच्युट छरिएका छन् । तर आशाअनुरुप राम्रा कलाकारको उत्पादन हुन सकेको छैन । इन्स्टिच्युटका संगीत प्रशिक्षकहरुको स्तर पनि चित्तबुझ्दो नरहेको धेरैको गुनासो पनि रहेको छ, अबको स्थानीय तहमा नै सबैको समान पहुँच भएकोले पनि आफ्नै गाउँठाउँमा आएर प्रदेश १ मात्र नभई देशभरीका सबै संगीतप्रेमीहरुका लागि अवसर मिलोस् भन्ने मेरो उद्देश्य हो ।’ उनले भने, ‘त्यही भएर इटहरीलाई नै रोजेको हुँ ।’
‘कक्षा सुरु गरेको एक महिना बितेको हुँदैन, नयाँ केटाकेटीलाई एल्वम निकाल्न हतार हुन्छ,’ उनको बुझाइ छ, ‘यस्तो छटपटको फाइदा उठाउन नयाँ संगीत इन्स्टिच्युटहरुले छोटो कोर्सको प्याकेज ल्याएका छन् ।’
हालसम्म आफूले २०–२५ हजारभन्दा बढीलाई औपचारिक संगीत प्रशिक्षण दिएको र उनले दिएको प्रशिक्षणले मिहेनतीहरुको भने प्रगति राम्रै भएको उनी बताउँछन् ।
पहिला रुचि भएकाहरुले संगीत सिकेको सम्झना गर्ने उनी अहिले रुचि र चर्चाको लागि संगीत सिक्न आउनेको संख्या बढेको देख्छन् । पैसा भएपछि गीत गाउन सकिन्छ भन्ने मान्यता यस्तै प्रवृत्तिले स्थापित भएको उनको अनुभव छ । संगीत सिकाउने असल प्रशिक्षकको पनि अभाव देख्छन् उनी । ‘प्रशिक्षकअनुसार पनि संगीत सिक्ने शैलीमा असर पर्छ । संगीतबारे नबुझेका मान्छे प्रशिक्षक भएको देखेको छु । यसबारे सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ,’ कामतले भने ।
कामतले यसअघि कलानिधि इन्दिरा र डोरेमी संगीत प्रशिक्षण केन्द्रमा लामो समय ज्ञानसिप बाडेका थिए । गुरुकुल संगीत पाठशाला, नेपालका चलेका संगीत सिकाउने इन्स्टिच्युट मध्येका एक हुन् ।
गायन क्षेत्रको जिउँदो इतिहास बोकेर पूर्वी नेपालको केन्द्र बिन्दु सुनसरीको इटहरीमा सुरुवात गरेको गुरु संगीत पाठशालामा भर्ना शुल्क एक हजार लाग्नुका साथै मासिक शुल्क संगीतको कोर्षअनुसार १५ सयसम्म लाग्ने कामतले जानकारी दिएका छन् । कामतका अनुसार यहा्रँ सिक्न आउनेहरुको कुनै उमेर तथा जातभातको विभेद नहुने पनि बताएका छन् । आफूमा जिज्ञासा हुने जो कोहीले पनि यस गुरु संगीत पाठशालामा आएर संगीत प्रशिक्षण लिन सक्ने कामतको भनाइ छ ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend