Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भिजन र मिसनका साथ स्ट्रबेरी खेती शुरु

हाम्रो कोशी आवाज
पुष २ २०७७, बिहिबार
भिजन र मिसनका साथ स्ट्रबेरी खेती शुरु

धरानः बराहक्षेत्रका युवा अहिले स्ट्रबरी खेतीमा रमाउँदै आएका छन् । त्यहाँका युवाले अहिले व्यवसायिकरुपमा यसको खेती थालेका हुन् ।
नौलो फलकारूपमा परिचित स्ट्रबेरी अर्थात् भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको हो । सञ्चालकमध्येका अर्जुन कुलुङले अहिले व्यवसायिक खेती थालिएको जानकारी दिए ।
यो खेती लगाएपछि स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा समेत विकास हुँदै गएको उनले जानकारी दिए । बराहक्षेत्र–१ (धरानको विष्णुपादुका छेऊ) सूर्यकुण्डमा उनीहरुले यस्तो खेती लगाएका हुन् ।
बराहक्षेत्र चियाबारी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टर नाम दिएर उनीहरुले यस्तो खेल गरेका हुन् । एक बिगाहामा जमीनमा शुरु गरेको खेती अहिले फस्टाउँदै गएको छ । अहिले उनीहरुका लागि यो खेती फापेको छ ।
यो फलको खेती त्यति हुन सकेको थिएन । सुनसरीमा पहिलोपटक यस्तो खेती भएको हो । स्ट्रबेरी फल खानाले पिसाबसम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ । यसको खेती झापामा पनि गरिएको कुलुङले जानकारी दिए ।
धेरै वर्ष विदेश बसेपछि उनीहरु फर्किएर साथीभाइको समूह बनाएर खेती थालिएको हो । सबैजना विदेशमा दुःखकष्ट भोगेर फर्किएका युवा हुन् । विदेशमा काम गरेर फर्किएका अर्जुनसँगै दीपक राई, टपेन्द्र राई, दीपेन राई, फत्तेमान राई र सुसन देवकोटा पनि उनको साथमा छन् । ‘लामो समय विदेश बसियो तर पनि सोंचेजस्तो सफलता हात पारिएन’, उनले भने, ‘देशमा फर्किएपछि केही गर्ने सोंच राखेको थिएँ अहिले पूरा हुँदैछ ।’
प्रायः चिसो र अग्लो स्थानमा मात्र फल्ने नयाँ जमानाको नयाँ फलखेतीका रुपमा विकास हुँदै गएको छ । लगाएको बालीले अहिले राम्रो फल दिँदै आम्दानी हुन थालेपछि यसतर्फ युवाको आकर्षण बढेको उनको भनाइ छ ।
उनले खेतीबाटै टिपेर प्रतिकेजी ६ सय रुपैयाँका दरले स्ट्राबेरी बिक्री गरिरहेका बताउँछन् । अहिले धरान बजारमा मात्रै बिक्री गर्दै आएका उनले धरानको माग धान्न नसकिएको बताए । ‘अहिले धरानका विभिन्न पसलमा ल्याएर यो फल छोडिदिन्छु तर पनि धरानको माग समेत धान्न धौ धौ छ ।’
मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी फलको खेती सफल भएपछि यसलाई अझै विस्तार गर्ने सोचका साथ आफूहरुको समूह अघि बढेको उनले जानकारी दिए ।
के हो स्ट्रबेरी फल ?
रोपेको तीन महिनामा स्ट्रबेरी खानयोग्य हुन्छ । स्ट्रबेरी एक प्रकारको मुटुको आकार जस्तो भएको फल हो । यसको खेती चिसो हावापानी भएको स्थानमा गर्ने गरिन्छ । तर, आजकल भारतको गर्मीमा पनि यसको खेती हुन थालेको छ । वर्षमा ६ महिना मात्र खेती हुने स्ट्रबेरीलाई नयाँ जमानाको नयाँ फलखेती भनेर पनि भन्ने गरिन्छ ।
कोलोरस्टेराँल र बोसो रहित हुने भएकोले बढ्दो उमेरको लक्षण कम गर्न, छालाको दाग हटाउन र चम्काउन, दाँत चम्काउन, डण्डीफोर हटाउन, रगत सफा गर्न र रूप सिगार्न स्ट्रावेरी फलको प्रयोग अधिक हुने गरेको छ । स्ट्रावेरी फललाई धनाढ्यहरुले मात्र नभएर नयाँ जमानाका युवापुस्ताले विशेष रुचाउने भएकोले यसलाई नयाँ जमानाको नयाँ खेती भन्ने गरिएको हो ।
भुइँकाफलमा औषधीय गुण हुन्छ । स्ट्रबेरी फल खानाले पिसाब सम्बन्धीको रोगलाई निको पार्न सहयोग पुग्दछ । यसको ताजा फल खाने गर्नाले धेरै पटक पिसाब लागि रहने रोगलाई रोकथाम गर्दछ । फल प्रशोधन गरी प्याकजिङ गरेर बिक्री गर्न सकिन्छ । जाम, रस र सर्बत बनाएर सेवन गर्न पनि सकिन्छ । त्यस्तै आइसक्रिमलाई बास्नादार बनाउन पनि स्ट्रबेरी प्रयोग गर्न सकिन्छ । यस फलमा प्रशस्त कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन सि, भिटामिन के, पोटासियम, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, एन्टिअक्सिदेन्टहरु र ओमेगा–३ फेटिएसिड पाइन्छ । यसको फलमा प्रशस्त मात्रामा पोटासियम, ओमेगा–३ फेटिएसिड पाइने हुनाले मुटु रोगी र ब्लडप्रेसर हुने व्यक्तिको लागि राम्रो मानिन्छ ।
घरमै बगैंचा र गमलामा पनि फलाउन सकिन्छ
घरको बगैंचा र गमलामा स्ट्रबेरी लगाएर फलाउन सकिने कृषकको भनाइ छ । तापक्रम मिलाउनु पर्ने भएकोले ग्रिन हाउस वा होचो टनेल बनाउनुपर्दछ । व्यवसायिक स्ट्रबेरी खेती गर्दा थोपा सिंचाई प्रविधि र मल्चिङ प्लास्टिकको प्रयोग गर्नु उपयुक्त हो ।

प्रकाशित मिति: पुष २ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend