Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मृत फुस्रेमा चहलपहल

हाम्रो कोशी आवाज
पुष ७ २०७७, मंगलबार
धरानको मृत फुस्रेमा चहलपहल

धरानः धरान–१३ मा रहेको ऐतिहासिक फुस्रे बजारलाई ब्युँत्याइएको छ । चोकमा ऐतिहासिकता झल्किने प्रतिमा राखिएको छ । १५ लाख बजेटले फुस्रे बजारको इतिहास झल्काउने गरी प्रतिमा राखिएको हो ।
मङ्गलबार एक कार्यक्रमका बीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सो प्रतिमाको उद्घाटन गरे । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी), वडाध्यक्ष नेत्र काफ्ले साथै स्थानीयबासीको उपस्थितिमा सो प्रतिमाको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदीप भण्डारीले प्रदेश सरकारको सहयोगबाट फुस्रे बजार ब्युँत्याउन लागिपरेको बताए । फुस्रे अब १२ वर्षमा खोलो फर्किएको अवस्थामा पुगेको उनले बताए । ‘शुन्य अवस्थामा रहेको फुस्रेलाई ब्युँत्याउन हामी लागिपरेका छौं, पहिला यो फुस्रे बजार पहिरोले लान्छ कि भन्ने थियो, तर अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ, बीपी पार्क, फुस्रेमा प्रतिमा राखिसकेपछि अहिले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।’ कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–१३ पर्यटकीय गन्तव्य बन्दै गएको बताए ।
फुस्रेमा ऐतिहासिकता तथा जीवन्त झल्काउने पार्क बनेको हो । पार्कमा ऐतिहासिकता र जीवन्त झल्काउने अर्थात् नुनको ढाकर बोकेर हिँड्दै गरेको मूर्ति, तराई मूलका व्यापारीले ढिक्के नुन जोखेको, पहाडी मूलका शेर्पा समुदायका महिलाले जडिबुटी ल्याउँदै गरेको साथै पछाडिपट्टि आफ्नो छोराछोरी बोकेको, भारीसहित ढाकर बोकेर हिँड्दै गरेको, सामान बेचिसकेपछि पैसा गन्दै गरेको आदि प्रतिमा राखिएसँगै सो हेर्न पाइने भएको छ ।
‘अहिलेका पुस्ताले पहिलाका मानिस धरान हिँडेर आउँथे, उत्पादन भएका चिज (फलफूल, जडिबुटी) ल्याउँथे, कति पैसा कमाउँथे साथै सामानमा साट्थे, बास बस्थे, सामूहिक खाना खान्थे, नुन बोकेर जान्थे भन्दा पत्याउँदैनन्’, फुस्रे सौन्दर्यकरण समितिका अध्यक्ष गौतम श्रेष्ठले भने, ‘त्यही भएर त्यतिबेलाको जीवन्त तस्वीर झल्किने गरेको पार्क बनाएका हौं ।’
वडा नं. १३ का अध्यक्ष नेत्र काफ्लेले ऐतिहासिक र जीवन्त झल्काउने प्रतिमाले पर्यटक तान्ने विश्वास व्यक्त गरे । ‘अब धरानको पुरानो ऐतिहासिक बोकेको फुस्रे बजार ब्युँतिएको छ, यहाँ बीपी पार्क बनेसँगै दैनिक सयौं पर्यटक आउन थालेका छन्, शनिबार मात्रै एक सयभन्दा बढी गाडीको लर्को लाग्ने गरेको छ’, उनले सुनाए, ‘अब यो ऐतिहासिक महत्व बोकेको फुस्रे बजार ब्युँतिएको छ, पर्यटक तान्नेमा आशावादी छौं ।’
त्यहाँ सर्दु जलाधार क्षेत्र र भेडेटार पनि फुस्रेमै झल्झली देख्न पाइने भएको छ । फुस्रे बजारदेखि सर्दु–जलाधार, महाभारत श्रृङ्खला हुँदै भेडेटार झल्किने ‘म्याप’ बनेको हो । यस्तो म्याप अहिले फुस्रे बजारको बीचमा रहेको चौतारीमा राखिएको छ भने प्रतिमाहरु बजारको पश्चिमतर्फ राखिएको छ । यस्तै, प्रतिमासँगै ज्येष्ठ नागरिक विश्रामालय राखिएको छ ।
धरान–धनकुटा सडक बन्नुअघिसम्म यो ठाउँ पूर्वाञ्चलको प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो । धरानका तत्कालीन मुख्य बजारहरूमध्ये यो पुरानो लोकप्रिय बजार हो । झन्डै दुई दशकअगाडिसम्म त्यहाँ ढिके नुन लिन संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा आदि स्थानका मानिस हिँडेर आइपुग्थे ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष ७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend