धरानः कोरोना भाइरसको सङ्क्रमणका कारण थलिएको सौराहाको पर्यटनलाई चलायमान बनाउन ‘घुमौं सौराहा’ भन्दै टोली धरान आइपुगेको छ ।
स्वदेशी र विदेशी पर्यटक भित्रिरहने सौराहामा स्वदेशकै पर्यटक पनि भित्रयाउने अभियान चलाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । धरानमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भएपनि अभियान चलाइएको बताए ।
नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले धरान आइपुगेको उनले जानकारी दिए । उनका अनुसार देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइँदै आएको बताए । कार्यक्रममा व्यवसायीले सौराहा पुग्ने पर्यटकलाई २० देखि ४० प्रतिशतसम्म छुट दिने जानकारी गराइयो ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान शुरु गरिएको बताए । ‘आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम ल्याएका छौं’, उनले भने, ‘आजै विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी छ ।’ घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताए ।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैंडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो । यसअघि सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक आउने क्रम भने छिटफुट देखिन थालेको छ । कर्पोरेट हाउस, एनजिओ, आइएनजिओहरुको कार्यक्रम, सेमिनारहरु पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै आयोजना हुन थालेकोले पर्यटन व्यवसायीहरुलाई थोरै भएपनि राहत हुन थालेको उनले बताए । कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष ओम प्रकाश, कोषाध्यक्ष माधव दवाडी, महासचिव गुणराज थपलिया र सञ्चारकर्मी राजेन्द्र आचार्य समेतको उपस्थिति रहेको थियो । उनीहरुलाई धरानका होटेल व्यावसायी एवं पर्यटनकर्मीहरु रविन अधिकारि, प्रमेश श्रेष्ठ, ऐलिना थापा मगर, वासु बराल, भुपाल चाम्लिङ राईलगायतले खादा लगाएर स्वागत गरेका थिए । तस्वीरः लक्ष्मण थापा
