धरानः धरानमा कोरोना कहर, विश्व शान्ति र पितृमोक्षका निम्ति श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ ।
धरान–इटहरीको सीमानामा पर्ने सेउती पुलनजिक यस्तो महापुराण हुन लागेको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुधबारदेखि २३ गतेसम्म हुने यस्तो महापुराण आयोजना गरिने आयोजकले जनाएको छ ।
सो महापुराण १५ गते विश्वकर्मा मन्दिरदेखि बिहान ११ बजेदेखि कलशयात्राका साथ शुभारम्भ हुने शिव बाबाभक्त समाज नेपाल सुन्दरहरैंचा मोरङकी संरक्षक सञ्जना तिम्सिनाले जानकारी दिइन् ।
पुराणको संरक्षक माता सञ्जना तिम्सिनाले आफूले १४ महिना लगाएर पद यात्रा गरी पूर्वदेखि पश्चिम थर्फुसम्म पैदलयात्राको क्रममा विभिन्न ठाउँ ठाउँमा (जहाँ बढी दुर्घटनाका कारण मृत्युु भएका छन् सो ठाउँमा) पितृमोक्षका निम्ति पुराण लगाएर हिँड्ने संकल्प गरेको बताइन् । उनले शुरुवात यहाँबाट गरेको जानकारी गराइन् ।
विशेषतः सेउती वारी (धरान–इटहरी सडक) मा बढी दुर्घटना हुने गरेको छ । ‘जहाँ बढी दुर्घटना हुन्छ, त्यहाँ यस्तो पुराण आयोजना गरिएको हो’, उनले भनिन्, ‘यसको उद्देश्य पनि लगभग त्यस्तै नै हो ।’ प्रचारप्रसार संयोजक उद्धवप्रसाद अधिकारीले धरान–इटहरी सडकखण्डमा सेउती पुल, सेउतीपुल वारी, छेउछाउ, विश्वकर्मा मन्दिर वरिपरी बढी दुर्घटना हुने गरेको छ ।
उनले महापुराणबाट जे जति आर्थिक सङ्कलन भएपनि २०७८ साल फागुन महिनामा विश्वभरका पितृहरुको उद्दार तथा विश्वशान्तिको निर्मित इटहरीमा हुने अश्वमेय महायज्ञमा खर्चिने बताइन् ।
महायज्ञमा लाग्ने आर्थिक खर्चको केही भाग भारतीय सरकारका मन्त्री डाक्टर दिनेश उपाध्यायले व्यहोर्ने बचन दिएको उनले जानकारी गराइन् । महापुराणमा अनुमानित खर्च ७ लाख रूपैयाँ रहेको छ ।
महापुराणमा जम्मा ५ जना वाचकहरु पण्डित कृष्णप्रसाद गुरागाई र अन्य उपवाचकहरुमा सीता राम काफ्ले, अच्युत गौतम, प्रकाश गुरागाई रहेको प्रचारप्रसार संयोजक अधिकारीले जानकारी दिए ।
तस्वीरः लक्ष्मण थापा
