Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कुकुरको पनि अस्पताल बन्ने !

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
धरानमा कुकुरको पनि अस्पताल बन्ने !

धरानः धरानमा कुकुरप्रेमी धेरै छन् । अब कुकुरप्रेमीहरुका लागि खुशीको खबर । कुकुरप्रेमी धराने कुकुरको सही उपचार नपाएर हैरान छन् । अब भने खुशीको खबर आएको छ । धरानमै कुकुरको लागि अस्पतालसमेत बन्ने भएको छ ।
धरान–९ मा कुकुरको लागि निजी अस्पताल बन्न लागेको हो । धरानस्थित पेटस होमका सञ्चालक शंकुकर्ण श्रेष्ठले साथीहरुसँग मिलेर कुकुरको उपचारको लागि अस्पताल खोल्ने योजना बुनेको जानकारी दिए । ‘खासमा चैतमै एकपल्ट छलफल चलेर अस्पताल स्थापना गर्ने भनेर सबै प्रक्रियातर्फ अघि बढिसकेका थियौं’, उनले भने, ‘ठ्याक्कै चैतदेखि नै लकडाउन भएपछि यो कार्य रोकिएको हो, अब साथीहरुसँग सरसल्लाह गरेर काम अघि बढाउने सोंचमा छौं ।’
सञ्चालक श्रेष्ठले विशेषतः कुकुरको उपचारका लागि यस्तो अस्पताल बन्न लागेको जानकारी दिए । ‘धरानमा यस्तो खालको अस्पताल हामीले मात्रै महसुस गरेका होइनौं, जो कुकुरप्रेमी हुनुहुन्छ, उहाँहरुले नै बढी महसुस गरिरहनुभएको छ’, उनले थपे, ‘जसले धेरै रकम लगाएर कुकुर किन्नुभएको हुन्छ तर बिरामी भयो अथवा केही भयो भने सही उपचार नपाएर कुकुर मरेर पीडामा हुनुहुन्छ ।’
उनले अस्पताल सेवासुविधासहितको बन्ने जानकारी दिए । उनले भने, ‘अस्पतालमा कुकुरको उपचार हुनेछ, अस्पतालमा भिडियो एक्सरे, ल्याब, ट्रिटमेन्टलगायतको सबै सुविधा हुनेछ ।’ यो अस्पताल बनेपछि निजीरुपमा पालिएका कुकुरका लागि फलदायी हुने विश्वास लिइएको छ ।
धरानमै घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना
धरानमै घाइते पशुचौपाया, घाइते वन्यजन्तुको उपचारको लागि ‘घाइते वन्यजन्तु उद्दार तथा उपचार केन्द्र’ स्थापना हुने भएको छ । प्रदेश १ मै पहिलोपटक यस्तो केन्द्र स्थापना हुन लागेको हो ।
धरान–१९ स्थित हरियाली सामुदायिक वन परिसरमा यस्तो उपचार केन्द्र बन्न लागेको हो । हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार राईले घाइते पशुचौपाया र घाइते वन्यजन्तुको उद्दार गरी उपचार गर्ने उद्देश्यले सो केन्द्र निर्माण गरिएको जानकारी दिए । ‘वन्यजन्तु सामान्यरूपमा घाइते भएको पाइए प्राथमिक उपचार गरी वन क्षेत्रमा छाड्छौं’, उनले भने, ‘गम्भीररूपमा घाइते भएको पाइए केन्द्रमै दक्ष पशु चिकित्सकले उपचार गर्छन् ।’
अहिले निर्माण कार्य लगभग अन्तिम चरणमा छ । यसको लागि भवन बनिसकेको छ तर फिनिसिङ बाँकी छ । झ्यालढोका, रङ्गरोगनको कार्य बाँकी छ । तालिमप्राप्त जनशक्तिको व्यवस्थासहित केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी थालिएको अध्यक्ष राई बताउँछन् ।
केन्द्रमा सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु, धरान बजारमा घाइते भएका पशुचौपाया तत्कालै उद्दार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गरी राम्रो भएपछि पुनः वन क्षेत्रमा छाड्ने व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष राई बताउँछन् । उनले केन्द्रको भवन निर्माणका लागि आव २०७६–०७७ वन मन्त्रालयमार्फत् सव–डिभिजन कार्यालयले रकम विनियोजन गरिदिएको थियो । उनका अनुसार ६ लाखले भवन निर्माण सकिएको छ । उनले अहिले काठको अभावले काम रोकिएको बताए ।

‘काठको अभावको कारणले सम्पन्न हुन सकेको छैन’, उनले भने, ‘अहिले सरकारले सखुवाको काठ रोक्का गरेको छ, ढलापढा निकासा हुन सकेन, त्यही भएर समस्या भयो, त्यो भयो भने यो काम रोकिन्छ, त्यसैले काठका लागि सरकारले सहयोग गर्नुपर्ने देखिन्छ ।’
यस्तै, अन्य पूर्वाधार (वन्यजन्तुको बेड, योसँगै सम्बन्धित विशेषज्ञ, प्राविधिक, औषधिलगायत सबै) को पनि अभाव रहेको उनी बताउँछन् । उनले धरान उपमहानगरपालिकाको पनि दायित्व भएको बताउँदै भने, ‘यसका लागि उपमहानगरपालिकाले पनि केही निर्णय लिएर अघि बढ्नुपर्ने देखिन्छ ।’
अहिले पनि सामुदायिक वनमा बाँदर, अजिङ्गर, दुम्सीलगायतको सामान्य उपचार हुँदै आएको उनले जानकारी दिए । उनले तीन चारवटा अजिङ्गरको उपचारपछि फर्काइएको बताए । ‘अहिले विशेषज्ञसहितको उपचार त गरेका छैनौं तर पनि सामान्य उपचारपछि वन्यजन्तुलगायतलाई छाडिदिने गरेका छौं, कतिपय यही उपचाररत पनि छन् ।’
कुकुरको ‘सेल्टर’ बन्ने
यस्तै, धरान उपमहानगरपालिकाले सामुदायिक कुकुर (छाडा छाडिएका) कुकुरका लागि सेल्टर बनाउने भएको छ । जहाँ धरान उपमहानगरपालिकाभित्र रहेका यस्ता कुकुर सवारी साधनको ठक्करबाट घाइते वा बिरामी भएका, रोगाएका कुकुरको उद्दार गरी उपचार र रेखदेख गर्न यस्तो कन्सेप्ट ल्याइएको हो ।
धरान उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले सेल्टर बनाउन भनेर थोरै बजेट छुट्टिएको जानकारी दिए ।
कुकुर कालगतिले नमरून, राम्रो खाना र उपचारपछि जीवन पाउन भन्ने उद्देश्यले यस्तो सेल्टरको कन्सेप्ट ल्याइएको उनले जानकारी दिए । ‘कुकुरलाई सवारी साधन वा अन्यले ठोक्काइदिन्छ, घाइते बन्छ तर कसले कहाँ लाने समस्या छ, त्यही भएर यो काम गर्न लागेका हौं, त्यहाँ लगेर उपचार थालिन्छ, उपचारपछि फेरि सडकमै छाडिन्छ,’ उनले थपे, ‘थोरै बजेट छुट्टिएको छ, काम अघि बढ्छ ।’
हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार भन्छन्, ‘यहाँ हामीले पुग्ने ठाउँ दिएका छौं तर काम शुरु हुन सकेको छैन, यहाँ सेल्टर बने फाइदा छ, कुकुरको उपचार मात्रै होइन, उहाँहरुले नै घाइते वन्यजन्तुको उद्दारपछि उपचार गर्नुहुन्छ र सहज हुन्छ भन्ने सोंचेका छौं, हेरौं उपमहानगरपालिकाको भूमिका के हुन्छ ?’
धरानमा हाल १५ सयदेखि २ हजारसम्म सामुदायिक कुकुर रहेका छन् भने निजीरुपमा पालिएका कुकुरको दर्ता प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ ।

अन्ततः कसरी उनीहरू छाडा, बेवारिसे अनि सामुदायिक कहलिन्छन् ?
मानवजातीका प्रेरणाका स्रोत तथा प्रसिद्ध अमेरिकी राष्ट्रपति अब्राहम लिकङ्नले भनेका छन्, ‘कुकुर संसारको एक मात्र यस्तो प्राणी हो, जसले आफूलाई भन्दा बढी माया आफ्नो मालिकलाई गर्छ ।’ हिजोआज परिवारका युवा सदस्यहरू कामको लागि शहर वा परदेश जाने भएकोले घरमा रहेका ज्येष्ठ सदस्य र बालबच्चाको साथीको रूपमा कुकुर पाल्ने गरिएको पाइन्छ ।
कुकुर पहिलो पाल्तु घरपालुवा स्तनधारी जनावर, घरको सुरक्षा सौखका लागि स्वामी भक्त, शिकार खेल्न सहयोग गर्ने गर्दछ । हिन्दू परम्पराअनुसार कुकुरको पूजा समेत गर्ने चलन छ ।
अधिकांशले कुकुर सौखले पालेका हुन्छन् त अधिकांशले बाध्यताले । शहरियाहरुले कुकुर पाल्ने रहर गर्छन्, पालेका हुन्छन् पनि । कुकुरको शारिरीक अवस्था ठीक हुँदासम्म पाल्छन् जब ऊ अशक्त, रोगी, बिरामी पर्छ तब उसलाई घरबारविहीन बनाउँछन्, बेवारिसे बनाउँछन् । अन्ततः उनीहरू छाडा, बेवारिसे अनि सामुदायिक कहलिन्छन् ।
कुकुर भावनात्मक साथी र तनाव हर्ने माध्यम बनेको विभिन्न अनुसन्धानले पनि देखाएका छन् । सन् २०१८ मा मेन्टल हेल्थ अमेरिका नामक संस्थाले गरेको शारीरिक र मानसिक स्वास्थ्य सर्वेक्षणले कुकुर र बिरालो पाल्ने ७४ प्रतिशत अमेरिकी (८ करोड ४६ लाख) मध्ये अधिकांशले त्यस्ता जनावर पाल्दा भावनात्मक सहयोग महसूस भएको, एन्जाइटी, निराशा, एक्लोपन र तनावबाट मुक्त हुन मद्दत मिलेको बताएका थिए । घरमा कुकुर वा बिरालो पाल्नेहरूको शारीरिक स्फूर्ति र काममा एकाग्रता पनि अन्यको तुलनामा केही बढी भएको सर्वेक्षणले देखाएको थियो ।
मानिससँगको सम्बन्धमा हजारौं वर्षदेखि जोडिएको कुकुर घरको सुरक्षा गर्ने वफादार प्राणीको उदाहरण बनेको छ । आफूले चाहेको बानी सिकाएर काम लिन सकिने भएकोले कुकुर भरपर्दो चौपाया मानिन्छ ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend