Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको खोप आज आउने, प्रदेश १ को लागि विराटनगरमा भण्डारण गरिने

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
कोरोनाको खोप आज आउने, प्रदेश १ को लागि विराटनगरमा भण्डारण गरिने

धरानः नेपालमा कोरोनाविरुद्धको खोप बिहीबार आउने भएपछि अब पहिला कसले पाउँछ ? कहाँ कहाँबाट खोप पाउन सकिन्छ ? प्रदेश तथा स्थानीय तहमा खोप कहिले पुग्छ भन्ने सबैको मनमा उब्जिएको प्रश्नको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।
भारत सरकारका अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज आज नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । नेपालको कुल जनसंख्या मध्ये २ करोड १६ लाख अर्थात ७२ प्रतिशतलाई निःशुल्क खोप दिने सरकारले निर्णय गरेको छ । कोरोनाविरुद्धको पहिलो खोप अभियानमा ७२ प्रतिशत जनसंख्या मध्ये ३ प्रतिशतलाई राज्यले मुख्य प्राथमिकतामा पर्ने मन्त्री त्रिपाठी बताउँछन् ।
कोरोनाविरुद्धको खोप पहिलो अभियानमा पर्ने ३ प्रतिशत जनसंख्या भनेको ६ लाख ४८ हजार फन्टलाइनर पर्छन् । अभियानको सुरुवाती चरणमा प्राथमिकतामा पर्नेहरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी हुने छन् । तर, भारतले अनुदानमा दिने १० लाख डोज खोप मुख्य फन्टलाइनलरलाई दिएर पनि पहिलो डोज जोखिममा रहेका ३ लाख ५२ हजार जनाले पाउने स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।
सरकारले कोरोनाविरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । अनुदानमा आएको कोभिसिल्ड नामक खोप पहिलो डोज फ्रन्टलाइनमा खटिएकालाई दिने निर्णय गरेपनि दोस्रो डोज कहिले दिने भनेर निर्णय भएको छैन । स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालमा खोप आएको एक हप्ता भित्र वितरण गर्ने बताएका थिए । खोप लगाउने व्यक्तिलाई मन्त्रालयले कार्ड दिनेछ । हाल खोप दिइनेहरुको नामावलीको इन्ट्री कार्य भइरहेको छ ।
नेपाल सरकारले खोप खरिदका लागि तयारी पुरा गरेको उनले बताए । खोप खरिदको लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको समेत उनको भनाइ छ । सरकारले कोरोनाविरुद्धको खोप उत्पादन गर्ने ६ वटा देशलाई कुटनीतिक नोट पठाएको छ ।
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पु¥याइसक्ने योजना बनाएको छ ।
विभागले यसअघि नै स्थानीय तहमार्फत खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिसकेको छ । यसकै आधारमा मन्त्रालयले खोप पठाउन लागेको हो । जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । खोप लगाउन आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको बताए ।
प्रदेश १ को विराटनगरस्थित भण्डारमा पठाइएको खोप प्रदेशका सबै जिल्लाका साथै प्रदेश २ को सप्तरी र सिरहामा पनि वितरण गर्नुपर्ने हुन्छ । विभागका अनुसार भ्याक्सिन चिस्यान भण्डारण विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको छ । प्रदेश २ मा भण्डार छैन । प्रदेश २ का अन्य ६ वटा जिल्लामा हेटौंडा भण्डारणबाट खोप व्यवस्थापन हुने विभागले जनाएको छ । हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान छ । वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिन्छ । वाग्मतीका अन्य १० जिल्लाका लागि भने काठमाडौंको भण्डारणबाट खोप पठाइनेछ ।

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend