विराटनगरः संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता र १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीका अनुसार संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारीरुपमा प्रहरी परिचालन भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक वर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी ५३६ वर्ष कैद भुक्तान भई १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ११६४ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने ३३६.३१२ केजी गाँजा बरामद भएको छ ।
यसैगरी विभिन्न मनोदिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोदिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोदिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ ।
यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ११९ जना मानिस र ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ ।
यसैगरी अवैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यवस्थापन तर्फ यस आर्थिक वर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक वर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको हो ।
