धरानः दैनिक भान्सा नभइ नहुने उपभोग्य खाद्य वस्तु हो, हरियो तरकारी । हरेक दिन भान्सामा अतिआवश्यक वस्तुको उत्पादन गर्ने उत्पादनकर्ता पाउने वस्तु मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा आकास जमिनको फरक पाइन्छ ।
उत्पादनको उचित मूल्य नपाएर नै तरकारी उत्पादनकर्ता किसान पेसाबाटै पलायन हुने अवस्थामा छन् भने बजारसम्म आइपुगेको उत्पादित तरकारीको मूल्य महंगो हुँदा उपभोक्ता पौष्टिकजन्य तरकारी खरिदमा सम्झौता गर्ने बाध्य छन् ।
बजारमा भित्रिने अधिकांश मौसमी तथा बेमौसमी तरकारीको औषत मूल्य किसानले ५ रुपैयाँदेखि १५ रुपैयाँसम्म मात्र पाउँने किसानहरु बताउँछन् ।
तर, सोही तरकारी विभिन्न विचौलियाका माध्यमबाट बजारमा ९० प्रतिशत बढीसम्म मूल्य तिर्नुपर्ने हुन्छ । हाल अधिकांश तरकारी उत्पादन हुने सिजन हो ।
हरियो तरकारीको मूल्य समेत बजार मूल्यको तुलनामा ९०–९५ प्रतिशत नै कम दिने प्राङ्गरिक कृषि उत्पादन नेपालका अध्यक्ष माया केसीले जानकारी दिइन् । तरकारीको कृषकले पाउने मूल्य उत्पादनको खर्चमा ऋणात्मक नै हुने पाइएको छ । जसकारण केही किसानहरु तरकारी पेसाबाटै पलायनसमेत भएका उनले उल्लेख गरिन् ।
कृषक राजकुमार यादवका अनुसार मौसम वा बेमौसममा उत्पादन गरेको अधिकांश तरकारीको प्रतिकेजी ५ देखि १५ रुपैयाँभन्दा बढी नपाउने बताए । हाल तरकारीको मौसम रहेको छ । यस समयमा धेरै तरकारी उत्पादन हुने समय भएकाले मौसममा फलाएको तरकारीको प्रतिकेजी १० रुपैयाँ पनि पाउन निकै कठिन हुने बताए ।
सरकारले कृषिमा जोड दिने भनिरहँदा कृषकले मेहनत गरेर उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा धेरै कृषक मारमा पारेको उनको बुझाइ छ । त्यतिमात्रै, नभइ बजारमा माग नभएको अवस्थामा उत्पादन गरेको तरकारी घाटा खाएर बेच्नुपर्ने बाध्यता अधिकांश कृषकको रहेको उनी बताउँछन् ।
‘हामीले उत्पादन गरेको तरकारीको कहिल्यै उचित मूल्य पाउँदैनौं । तर, त्यही तरकारी काठमाडौंवासीको भान्सामा पुग्दा कैयौं गुणा बढेर पुग्छ,’ उनले भने ‘जसमा बीचको व्यवसायीले धेरै नाफा खाएर बजारमा बिक्री गरेकोले यसमा नियमन गर्न आवश्यक छ ।’
प्राङ्गरिक कृषि उत्पादन नेपालका अध्यक्ष माया केसीले अर्गानिक तरकारी उत्पादन गरी उपत्यकाका व्यवसायीलाई बिक्री गर्दै आएकी छिन् । उनले उत्पादन गर्ने कतिपय तरकारी कालीमाटीका होलसेल व्यापारीले खरिद गर्छन् भने केही उपभोक्ताहरु उनकै फार्ममा आएर खरिद गर्छन् ।
एकदिनमा एकै प्रकारका तरकारी फार्मबाट खरिद गर्दा व्यापारीले दिने मूल्य र उपभोक्ता दिने मूल्यमा आकास जमिनको फरक हुने उनले जानकारी दिइन् । त्यसैलै, बजारमा विचौलियाका कारण सँधै कृषक र उपभोक्ता मारमा पर्ने अधिकारकर्मीहरू बताउँछन् ।
एकातिर कृषकले उपयुक्त मूल्यमा उत्पादन गरेको तरकारीको मूल्य पाउँदैनन् भने अर्कोतर्फ उपभोक्ताले अत्याधिक मूल्य तिरेर किनेर खानुपर्ने बाध्यता रहेको छ ।
उपभोक्ताले मौसम तथा बेमौसीमा सस्तो तरकारी खाना पाउनु भनेको काहानी जस्तै भइसक्यो । मौसम अनुसार उत्पादन भएको तरकारी उक्त समयमा सस्तिनु पर्ने हो । तर, उपभोक्ताले मौसमको समयमा पनि ५० रुपैयाँभन्दा कम मूल्यमा तरकारी पाउन सकेको छैन । यसले गर्दा विचौलियाको हाबीले गर्दा तरकारी उत्पादक र उपभोक्ता मारमा पारेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
सरकारले विभिन्न स्थानका कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रहरूले विचौलियालाई हस्तक्षेप गर्नु सक्नुपर्ने उनको भनाइ छ । यदि स्थानीय तहमा भएको तरकारीको मूल्य निर्धारण गरेर उपभोक्ता सामू तिनीहरूले नियमन गरी उचित व्यवस्थापन गरेमा उचित मूल्य पाउने उनको बुझाइ छ ।
सधै कृषकले घाटा खाएर बेच्नुपर्ने र उपभोक्ता चर्को शुल्क तिरेर तरकारी खाने प्रवृत्तिलाई सरकारले नै प्रोत्साहन गरिरहेको कृषक तथा अधिकारकर्मीहरू बताउँछन् ।
उनीहरूका अनुसार सरकारले जति पनि निती नियमम बनाएता पनि यसको नियमन कहिल्यै गर्न नसकेको अवस्थामा अबका केही वर्षमा कृषि आन्दोलन हुने कृषकहरूको भनाइ छ ।
‘लामो समय विचौलियाको हाबीलाई कम गर्नुपर्छ भन्दै कृषकहरूको संघसंस्थाले ध्यानाकर्षण गर्दै आएको छ,’ कृषि उद्यमी राधा मधानीले भनिन्, ‘आगामी दिनमा पनि यही प्रवृत्ति रहि आएमा देशका सबै कृषकहरू भेला भएर आन्दोलनमा उत्रिन्छौं ।’
साथै, आगामी दिनमा कृषकहरूले विचौलियाको हाबीलाई नियन्त्रण गर्नको सिधै कृषक र उपभोक्तासामु पु¥याउने योजनाको लागि लागि परेको बताइन् ।
तरकारी विचौलियाको नियमन, निरोपन र नियन्त्रणको गर्नको लागि कृषि मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहकार्य गरी छलफल गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । यी मन्त्रालयले तरकारीको मूल्यको तह कति राख्ने भन्नेमा जोड दिनुपर्ने बताए । अहिले ४ तह रहेको छ । जसमा किसान, थोक बिक्रेता, बिक्रेता र उपभोक्ता रहेको छ । यस तहलाई दुई वा तीन तहमा ल्याउन सकिने उनको भनाइ छ । जसमा कृषक, विक्रेता र उपभोक्ता समेट्न सकिन्छ ।