धरानः नेपाल आइपुगेको कोभिडविरूद्धको ‘कोभिसिल्ड’ खोप धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि लगाइने भएको छ ।
बुधबारदेखि खोप लगाउन थालिने सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । ‘नेपाल सरकारले बुधबारबाट देशव्यापीरूपमा कोभिडविरूद्धको खोप लगाउने तयारी अनुसार नै भोलिबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत कर्मचारी लगायतलाई सो खोप लगाइनेछ’, उनले भने ।
सहप्रवक्ता पोखरेलले खोपका लागि आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा भोलि बिहान साढे १० बजेबाट पेइङ वडा २ मा खोप लगाउने कार्य सुरू गरिने जानकारी दिए ।
कोभिड बिरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानीय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागि नेपाल सरकारबाट निर्देशन आएको छ ।
यस्तै, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल र स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूमा समेत खोप लगाउनका लागी निर्देशन आएकोले त्यसै अनुसार खोप लगाइने भएको छ ।
कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको हो । सहप्रवक्ता पोखरेलले भने, खोप अन्य विभिन्न राष्ट्रहरूमा गरिएको परिक्षणमा ९० प्रतिशतसम्म प्रभावकारी भएको पाइएको छ । यसले शरीरमा कोभिडविरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनेछ ।