Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हाते उद्योगले ‘मालामाल’

हाम्रो कोशी आवाज
माघ १३ २०७७, मंगलबार
धरानमा हाते उद्योगले ‘मालामाल’

धरानः धरानस्थित अविनाश हस्तकला उद्योगको बजार फैलिँदो छ । हातको कलाले टिकेको बजार अहिलेसम्म टिकेको मात्रै छैन, यसको बजार फैलिँदो पनि छ ।
अविनाश हस्तकलाको शाखा इटहरीमा पनि सञ्चालनमा ल्याइएको छ । प्रोप्राइटर श्यामकृष्ण श्रेष्ठले इटहरीमा पनि यसको शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘कला नभएको भए कहाँ यसरी बजार फैलिँदै जान्थ्यो र’, उनले भने, ‘त्यही भएर यतिका वर्ष टिकेकै छु ।’
२०५२ सालमा उद्योग स्थापना भएको उद्योगमा अहिले १० जनाभन्दा बढीले काम पनि पाएका छन् । ‘आफूले कमाउँदै, १० जनालाई स्वरोजगार पनि बनाएको छु’, उनले निर्धक्कसाथ भने, ‘कला छ भने कहिल्यै हराउँदैन ।’
आफ्नै सीप र प्रतिभा पस्किँदै सीप देखाउँदै धरानमा निरन्तर लागिरहँदा यहाँसम्म आइपुगेको उनले बताए । ‘कुनै पनि निर्जीव वस्तु आफैमा पूर्ण आकृति हुँदैन, त्यसमा विभिन्न सीप, श्रम, र समय खर्चिनुपर्ने हुन्छ । त्यसपछि मात्रै पूर्णता पाउँछ । कुनै एउटा काठको टुक्राभित्र २०५२ सालमा उद्योग स्थापना गर्दा काठमै विभिन्न आकृति र सीप खन्याउन सक्ने देखेको हुँ’, उनले खुलाए, ‘ यही देखाइले गर्दा नै अहिले केही सफल भएको छु भन्ने महसुस भएको छ ।’
उनले हाल काठ तथा बाँसका उपहार, ताम्रपत्र, मेडल, ट्रफी, अवार्ड, मार्बल, शिलालेख, उड कार्विङ, फ्रेम, उपहारका सामग्री तयार गरी बिक्री वितरण गर्दै आम्दानी गर्दै आएका हुन् ।
‘त्यतिबेला हस्तकला उद्योग खुलेको थिएन’, उनले भने, ‘यसलाई एउटा उद्योगको रूप दिएँ ।’ उनले भने, ‘धन्न कला भएकोले अहिलेसम्म टिकिरहेको छु, इटहरीमा बजार पनि विस्तार गरिसकेको छु ।’
अहिले १० जनाभन्दा बढीलाई सीप सिकाउँदै रोजगारी दिँदै आएको उनले बताए । ‘५ जना बोल्न नसक्ने (फरक क्षमता) भएका व्यक्तिलाई पनि रोजगार दिएको छु’, उनले थपे, ‘बोल्न नसक्ने, ज्यालामजदुरीको काम गरी खान नसक्ने, बसेर गरिखाने आदिलाई प्राथमिकता दिएको छु ।’
उनले अहिले यी सामानहरूलाई स्थानीय बजारका अतिरिक्त देशविदेशसम्म सामग्री पठाउन सक्ने भएका छन् । ‘पूर्वदेखि काठमाडौंसम्म सामग्री पुग्छ, डिमाण्ड धान्नै गाह्रो छ,’ उनले खुलाए, ‘नेपालमा छोटो समयमा धेरै आम्दानी गर्न सकिने क्षेत्रमध्ये हस्तकला पनि एक हो । वस्तु उत्पादन गरेपछि बजारको समस्या नहुने र भाउ पनि राम्रो हुने भएकाले हस्तकला व्यवसाय उत्तम विकल्प हो तर झन्झट मान्नेहरूका लागि काम छैन ।’
अहिले उनले यसै व्यवसायबाट धरानमै घर–घडेरी पहिल्यै जोडिसकेका छन् । मासिक ५०–६० हजार कमाउँदै आएका उनी ललितकला प्रतिष्ठान साथै आधा दर्जन बढी संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।
विदेशमा पसिना चुहाउनुभन्दा स्वदेशमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिने उनले बताए । ‘विदेशमा पसिना चुहाउनुभन्दा यही केही गर्न सकिन्छ’, उनले भने, ‘तर विदेशमा खटिएको जत्तिकै खटिनुचाहिँ परयो ।’

https://youtu.be/H77loqtjcy8

प्रकाशित मिति: माघ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend