विराटनगरः विराटनगर–१६ स्थितबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ वर्षीय मनिष भुजेल र धरान–१६ कै २१ वर्षीया निषा श्रेष्ठ रहेकी छिन् ।
पैदल हिँडिरहेका दुवैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट एभिल–१० एम्पुल, फेनारगन–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल र डाइजोल्याब–१० एम्पुल फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय दमकले ठूलो परिणामको अवैध सामानसहित एकजनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका विभिन्न ब्राण्डका खाद्य वस्तुहरु अवैधरुपमा ल्याइ भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अवैध खाद्य वस्तुहरु बरामद गरेको हो ।
सामान बरामद भएसँगै सञ्चालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।