Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मारवाडी महिलाले देखाएको समाजसेवा

हाम्रो कोशी आवाज
माघ १५ २०७७, बिहिबार
धरानमा मारवाडी महिलाले देखाएको समाजसेवा

धरानः धरान–१४ स्थित तीनधारेमा धरानका मारवाडी महिलाले चिटिक्क परेको विश्रामालय र खानेपानी टयाङ्की बनाइदिएका छन् । सवा १२ लाखको लगानीमा सो विश्रामालय र खानेपानी टयाङ्की निर्माण भएको हो । निर्माण समितिका संयोजक एवं समाजसेवी पितरुमल अग्रवालले मारवाडी महिलाकै पहलमा सो कार्य भएको बताए ।
मारवाडी महिला मञ्च धरानद्वारा निर्मित विश्रामस्थल र टयाङ्कीको बिहीबार १ नं. प्रदेशका सभामुख प्रदिप भण्डारीले रिबन काटेर उद्घाटन गरेका छन् ।
विश्रामस्थलको खर्च महिला मञ्चले विभिन्न धार्मिक कार्यक्रम, सामाजिक कार्यक्रम, मारवाडी समुदायका समाजसेवीहरुको सहयोगबाट निर्माण कार्य सकिएको मञ्चकी कोषाध्यक्ष श्वेता अग्रवालले बताइन् ।
समुदघाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै सभामुख भण्डारीले मारवाडी समुदायका महिलाहरु चुल्हाचौकोमा मात्रै सीमित नरही सामाजिक कार्यमा होमिएकोमा खुशी व्यक्त गरे । ‘आज आएर आफ्नो संस्कार, संस्कृतिलाई समेट्दै यस्तो प्रशंनीय र उत्साहजनक कार्य गर्नु खुशीको कुरा हो ।’ उनले भने ।
कार्यक्रममा विशेष अतिथि धरान उपमाहनगरपालिका मेयर तिलक राईले धरान विभिन्न जातजातिहरुको धार्मिक र संस्कृतिको सङ्गमस्थल रहेको हुँदा यहाँ रहेका मारवाडी समुदायले पनि यहाँको सामाजिक विकासमा आफ्नो तर्फबाट उत्तरदायी भूमिका गर्दै आएको बताए । उनले यस्तो सहयोगी भावनाको कार्यले धरानको विकासमा टेवा पुग्ने बताए ।
नेपाल राष्ट्रिय मारवाडी महिला मञ्चकी निवर्तमान अध्यक्ष रचना राठीले देशभरमा २७ वटा महिला मञ्चका शाखाहरु विस्तार र गठन गरेको बताइन् । उनले मारवाडी समुदायहरुमा आफ्नो अनुहारलाई घुँघटोले छोपेर बस्ने वातावरणबाट बाहिर निस्किएर आफ्नो संस्कार संस्कृतिको जर्गेना गर्दै सामाजिक उत्तरदायित्व समेत निभाउँदै आएको बताइन् । ‘यस्तो कार्यमा मारवाडी समुदायका पुरुषहरुको अहम् भुमिकालाई नकार्न सकिँदैन’, उनले भनिन्, ‘अहिले हाम्रो समुदायमा छोरासरह छोरीलाई पनि बराबर शिक्षामा अग्रसरता गराउने परिपाटी बसेको छ, त्यसैले पनि शिक्षिक बुहारी भित्रिएका छन्, जसले गर्दा समुदायको सोंच र समाजको धारणा पनि बदलिएको छ ।’
कार्यक्रममा दुर्गा काफ्ले, सन्तोष अग्रवाल र लक्ष्मी कान्त बियानीलाई प्रशंसा पत्र र जग्गादाता एवं समाजसेवी टोमप्रसाद आचार्य र विश्रामस्थल र प्याउँ निर्माण संयोजक पितरुमल अग्रवाललाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवाल, जग्गादाता आचार्यले र उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले समेत मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन युवा मञ्चका धरान अध्यक्ष सन्तोष अग्रवाल अनि कविता अग्रवालले गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: माघ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend