धरान: धरानमा वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पुरस्कार घोषणा गरिएको छ ।
गोर्खा कम्पनी ट्रेनिङ सेन्टर धरानले यस्तो पुरस्कार स्थापना गरेको हो । अन्यायको विरुद्धमा कलम उठाउने, निडरताका साथ कलम उठाउने, ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाको विषयमा कलम चलाउने, गोर्खाको इतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुरयाएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने वीर पत्रकारहरुको सम्मानस्वरुप वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पत्रकारिता पुरस्कार को घोषणा गरिएको जनाइएको छ ।
वीर गोर्खा पत्रकारिता पुरस्कारअन्तर्गत २० हजार, सम्मानपत्र र दोसल्ला रहेको छ भने वीर गोर्खा नव–प्रतिभा पत्रकारिता पुरस्कारअन्तर्गत १५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने संस्थाका प्रबन्ध निर्देशक प्रेम राईले जानकारी दिए । पुरस्कार नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा हरेक वर्ष वैशाख १ गतेका दिन प्रदान गरिने जनाइएको छ । कार्यक्रममा पक्षघातबाट पीडित पत्रकार दिलीप राईलाई १० हजार नगद प्रदान गरिएको छ । तस्वीरः लक्ष्मण थापा