धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारसम्म १७ सय ३३ जनाले कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।
माघ १४ गते बुधबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै शुरू भएको खोप अभियान कार्यक्रम शुरू गरिएको थियो ।
८ दिनमा १ हजार ३ जना महिला र ७ सय ३० पुरूषले खोप लगाएको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले जानकारी गराए । ‘२ सय ५० भाइल खोप आएकोमा १ सय ७४ भाइल प्रतिष्ठानका अग्रपङ्क्तिमा खटिएका स्वास्थकर्मीहरूका लागि प्रयोग भएको छ,’ डा. बरालले भने, ‘१० भाइल खोप धरान उपमहानगरपालिकालाई दिइएको र ६६ भाइल बाँकी रहेको छ ।’
प्रतिष्ठानमा २ हजार भन्दा बढीको संख्यामा कोभिडविरुद्ध अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुलाई खोप लगाउनुपर्ने रहेको छ । अब छुटेका केही प्रतिष्ठानका स्वास्थकर्मीको साथमा कर्मचारी तथा सरसफाइकर्मीहरुलाई खोप दिन बाँकी रहेको र सबैमा खोप नपुगेसम्म अभियान जारी रहने डा. बरालले बताए । खोप लगाउनको लागि प्रतिष्ठानका ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था रहेको थियो ।
कोभिड बिरामीहरुको उपचार र व्यवस्थापनमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरुमा कार्यरत सबै स्वाथ्यकर्मीहरु, स्थानीय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरुलाई खोप लगाउनका लागि नेपाल सरकारले निर्देश गरेको थियो । त्यसैअनुसार नै प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको हो ।