धरानः धरानको वडा नं. १६ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
धरान उपमहानगरका प्रमुख तिलक राई, वडाध्यक्ष दिलकुमार गिरी र सामान्य प्रशासन शाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडासहितको टोलीले वडा नं. १६ स्थित रहेको तत्कालीन धरान उपमहानगर प्रमुख स्व. तारा सुब्बा स्मृति पार्कमा पुगेर रोजगार कार्यक्रमअन्र्तगत छनौट भएका रोजगारदातालाई आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरे । स्मृति पार्कमा खटिएका ६ जना मजदुरहरुलाई परिचय पत्र, सुरक्षात्मक टोपी, एप्रोन, बेल्चा, गैतीलगायतको औजार सामाग्री प्रदान गरिएको छ । थप आवश्यक औजार सामाग्रीहरु उपमहानगरपालिकाले सोमबार उपलब्ध गराउने जनाइएको छ ।
नगर प्रमुख राईले धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत १६ नं. वडामा ६ जनाले काम पाएको बताए । उनका अनुसार स्मृति पार्कमा खाल्डाहरु खन्ने, वृक्षारोपण गर्ने र सरसफाइ गर्ने भनेर उपमहानगरपालिकाबाट योजना स्वीकृत भएको थियो ।
रोजगारदाताले योजना स्वीकृत भएबमोजिम काम गर्न आइतबारबाट नै सुरु गरेको छ । रोजगार कार्यक्रमअन्र्तगत काम पाएका मजदुरहरुले स्मृति पार्कमा खाल्डा खन्ने, झाडी फाड्ने र वृक्षारोपण कार्य गर्नेछन् । काम नपाएर बेरोजगार भएर बसेकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले ठूलो सहयोग पुरयाएको नगर प्रमुख राईले बताए ।
धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत यस वर्ष १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका वरिष्ठ अधिकृत खतिवडाले जानकारी दिए । एकजना रोजगारदाता बराबर ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।