धरानः धरानको सेउती र सर्दु खोलाबाट अवैधरुपमा नदीजन्य वस्तुहरुको तीब्र उत्खनन तीब्र भइरहेको छ । खोला किनार र खोला आसपास बसोबास गर्ने स्थानीयहरु खोला उत्खननमा सक्रिय बनेका हुन् ।
धरान उपमहानगरका प्रमुख तिलक राईले खोलाहरुमा नदीजन्य वस्तुको अवैधरुपमा चोरी निकासी भइरहेको जानकारी आएको बताए । ‘धरान उपमहानगरपालिकाले वार्षिकरुपमा ठेक्का लगाउने गर्छ । यसवर्ष भने खोलाको ठेक्काको सूचना एकदुई दिनमा निस्किने तयारी छ । खोलाको ठेक्का लगाउन ढिलाइ भयो, ठेक्का नलगाएको भन्दैमा स्थानीयले नदीजन्य सामग्रीको अवैधरुपमा उत्खनन गरेर बिक्री गर्न हुँदैन’, उनले भने ।
विपद तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले धरानका खोलाहरुको उत्खनन तथा व्यवस्थापन गर्ने सन्दर्भमा (आइई) प्रारम्भिक वातावरणीय परीक्षण गरिसकेको बताए । ‘अब हामी चाँडै नै बिक्री गर्ने प्रबन्ध गर्दैछौं, अहिले कतिपय स्थानहरुमा अवैधरुपमा नदीजन्य पदार्थहरु चोरी निकासी भइरहेको छ, त्यसको लागि हामीले निगरानी, अनुगमन गरिरहेका छौं, कतिपय त्यस्ता चोरी निकासी गर्ने ट्रिपर, टयाक्टरहरुलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याएका छौं ।’
उपमहानगरपालिकाले ठेक्का लगाउँदा बाढी पहिरोले भूक्षय हुने भनेर विरोध गर्ने अनि ठेक्का नलगाएको बेलामा आफै चोरी निकासी गरेर दोहोरो चरित्र देखाउने काम केही प्रतिनिधिहरुले गरिरहेका छन् । ‘अहिले उपमहानगरपालिकाले ठेक्का लगााए, बाढी–पहिरोले भूक्षय हुने भनेर विरोध भइरहेको छ तर ठेक्का नलगाउँदा आफैं चोरी निकास गरिरहेको पाइएको छ,’ उनले भने, ‘उपमहानगरपालिकालाई खोला ठेक्का लगाउनु हुँदैन भनेर ज्ञापनपत्र बुझाउनेहरुले यस्तो बेला स्थलगतरुपमा गएर हेर्न जरुरी छ । खोलाको ठेक्का नलागेपनि सेउती खोलामा दैनिक १५ देखि २० वटा ट्याक्टरले नदीजन्य सामग्री ओसारिरहेका भेटिन्छन् ।’
