धरानमा आयोजित पत्रकार सम्मेलनमा युवाहरु । तस्वीरः लक्ष्मण थापा
धरानः धरानमा अब सामानका लागि चारैतिर भौतारिरहनुनपर्ने युवाहरुले जनाएका छन् । धरानमा ‘सप अर्डर’ नाम दिएर फलफूल, सागसब्जीदेखि लिएर फुड आइट, इलेक्ट्रोनिक्स सामानसम्म घरघरमै पुरयाउने लक्ष्य लिइएको सप अर्डर प्रालिका अध्यक्ष सुमन लिम्बूले जानकारी दिए ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धरान–१५ भानुमार्गमा कार्यालय नै खोलेर फागुन ४ गतेदेखि फलफूल, हरियो सागसब्जी, विभिन्न रेष्टुरेण्टका फुड आइटम, इलेक्ट्रोनिक्स, फेन्सी वेयर, स्पोटस सामग्री, किरानाका सामान, पुस्तक समेत अनलाइन अर्डरमा होम डेलिभरी सेवा प्रदान गरिने जानकारी दिए ।
यसअघिको व्यापार पाँचजना युवा मिलेर करिब १० लाख रुपैयाँ लगानी लगाइएको उनले जानकारी दिए । सपको यही फागुन ४ गते धरानका मेयर तिलक राईको हातबाट औपचारिकरुपमा उद्घाटन हुने जनाइएको छ । उनले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सब्जी तथा फलफूल अनि किराना आइटममा दुई सयसम्मको अर्डर गरेमा डेलेभरी गर्न सकिने र ५ किलोमिटरको दुरीमा ढुवानी चार्ज निःशुल्क गरिने जानकारी दिए ।
ग्राहकहरुलाई लक्की ड्र को माध्यमबाट तीनजनालाई पुरस्कृत गरिने प्रालिका उपाध्यक्ष महेन्द्र राईले जानकारी दिए ।
कसरी आयो यस्तो कन्सेप्ट ?
कोरोना कहरका कारण गत चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भयो । सर्वसाधारण बाहिर निस्किन पाएनन् । बजार ठप्प नै रह्यो । लकडाउनको समयमा जनजीवन नै अस्तव्यस्त बन्यो । त्यतिबेला केही गरौं भनेर युवाहरुले निःशुल्क अनलाइन सेवा प्रदान गरेका थिए । त्यतिबेलै यो सप अर्डर शुरुवात भएको हो ।
‘अहिलेसम्स पनि हामीले सागसब्जी र फलफूलमा निःशुल्क सेवा दिइरहेका थियौं’, सचिव प्रदीप कुमार राईले भने, ‘अब आउने दिनमा सपलाई व्यवसायिकरुपमा नै अघि बढाऔं भन्ने भयो र अहिले यसको तयारीमा लागेका हौं, ग्राहकले घरमा नै बसेर अनलाइन मार्फत आफूलाई चाहिने पसल वा खाना सहजरुपमा अर्डर गरी प्राप्त गर्न सक्नुहुनेछ ।’
सपले धरान, तरहरा, इटहरी, याङ्शिला, सतिसाल, चतरा, चक्रघट्टीमा समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।