Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मृत शरीर संरक्षणको विधि सफल

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
मृत शरीर संरक्षणको विधि सफल

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोग हुने मृत शरीरको संरक्षण गर्ने विधि सफल भएको छ ।
सफ्ट क्याडेभर (मृत शरीर) संरक्षणको विधि सफल भएको हो । बिहीबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनालको उपस्थितिमा एनेटमी विभागका एसोसिएट प्रोफेसर डा. प्रभाकर यादवले प्रतिष्ठानमा सफ्ट क्याडेभरको सम्भावनाको प्रदर्शन गरेका थिए । ‘नेपालमा यसअघि फ्रेस तथा ड्राइ क्याडेभरको प्रयोग मात्र हुने भएकोमा प्रतिष्ठानले सफ्ट क्याडेभरको सम्भावनाको खोजी गरेकोमा सफलता मिलेको हो,’ उनले भने ।
उनले थपे, ‘ड्राइ क्याडेभरमा फर्मालिन भन्ने केमिकलको मात्रा अधिकरूपमा प्रयोग हुने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ । बीपी प्रतिष्ठानमा तयारी गरिएको सफ्ट क्याडेभरमा स्याचुरेटेड स्लट सोलुसन प्रयोग हुने र फर्मालिनको मात्रा एकदमै न्युन हुने भएकाले आँखा पोल्ने, स्वासप्रश्वासमा समस्या हुने लगायतको समस्या हुँदैन ।’ सफ्ट क्याडेभर कोठाको तापमानमा नै भण्डारण गर्न सकिने भएकाले भण्डारण गर्न अन्य महङ्गो र अत्याधुनिक उपकरणहरूको आवश्यकता नपर्ने रयसलेभण्डारण खर्च घटाउने डा. यादवले दाबी गरे ।
प्रतिष्ठानमा सफ्ट क्याडेभरको तयारी अन्तराष्ट्रिय मापदण्ड अनुसार भएकोले नेपाललगायत अन्य राष्ट्रहरूका सर्जनहरूलाई प्रशिक्षणको लागि निम्त्याएर प्रतिष्ठानको आम्दानीमा वृद्धि गर्न सकिनेछ । साथै यसको प्रयोग एमबिबिएस र पोष्ट ग्राजुएटका विद्यार्थीको अध्ययनको लागी प्रयोग गर्न सकिने डा. यादवले बताए । ‘संसारमा नै सफ्ट क्याडेभरमा सर्जरी प्रशिक्षणको लागी महँगो शुल्क तिर्नुपर्ने हुन्छ । प्रतिष्ठानमा नै उपलब्ध हुने भएपछि सर्जिकल ट्रेनिङका लागि अन्य ठाँउका सर्जनहरूबाट शुल्क लिएर प्रशिक्षण दिई आम्दानी गर्न सकिनेछ ।’ उनले भने ।
सफ्ट तथा ड्राइ क्याडेभरको बीचमा हुने फरकको विषयमा अर्थोपेडिक विभागका एसोसिएट प्रोफेसरडा. विष्णु पोखरेलले प्रत्यक्ष डाइसेकसन (चिरफार) गरेर देखाएका थिए । उनले भने, ‘सफ्ट क्याडेभरचिरेर हेर्दा अपरेशन थिएटरमा जीवित व्यक्तिको सर्जरी गरे जस्तै हुने, जोर्नीहरू चलायमान हुनाले जटिल शल्यक्रिया गर्नुपूर्व सफ्ट क्याडेभरमा शल्यक्रियाको अभ्यास गरी बिरामीमा शल्यक्रिया गर्दा त्रुटी हुने सम्भावना न्यून हुन्छ ।’
नेपालको मेडिकल क्षेत्रमा सफ्ट क्याडेभरको प्रयोग ऐतिहासिक कार्य हुने प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरीले बताए । उनले यसलाई तत्काल प्रयोगमा ल्याउनका लागि एनेटमी विभागसँग छलफल गरी कार्य अगाडि बढाउने समेत उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend