धरानः धरान–१७ शान्ति टोलस्थित खहरे खोलामा बनेको नवनिर्मित पुलको उद्घाटन भएको छ ।
मेयर तिलक राईले आज (शनिबार) नवनिर्मित पुलको उद्घाटन गरेका थिए । मेयर राईले केही समय अघिसम्म यो ठाउँलाई फरक ढंगले हेरिएको बताउँदै भौतिक निर्माणले यो ठाउँको स्वरुप नै परिवर्तन भएको बताएका छन् ।
जनप्रतिनिधिहरुले दिएको पैसाको सदुपयोग भयो र त्यसले गुणात्मक रुपमा विकास भयो भने जनप्रतिनिधिहरुलाई अत्यन्तै सुख हुने उनको कथन थियो । उनले उपभोक्ता समितिले उत्साहजनक काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
मेयर राईले धरान १७ भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्नुपर्ने एक नम्बर वडामा पर्ने बताए । भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न उपमहानगरको कार्यपालिकाको बोर्ड बैठकबाट नगर प्रमुखको संयोजकत्वमा समिति बनेको उनले बताए ।
शान्ति टोल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य तामाङले सो पुल नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ र उपभोक्ता समितिको १ लाख ८८ हजार ६८ रुपैयाँ बजेटमा निर्माण गरिएको जानकारी दिए । उनले भने, ‘यहाँ पुल नहुँदा मानिसलाई आवतजावत गर्न समस्या थियो नै तर खहरे खोलाले बगाएर अहिलेसम्म तीन जनाको मृत्युसमेत भइसकेको छ ।’ पुल निर्माण भएपछि शान्ति टोलका मात्र नभई लोसे, नमस्ते चौक र उदयटोलका बासिन्दालाई आवतजावत गर्न सहज भएको उनले भने ।
वडाध्यक्ष मनोज भट्टराईले शान्तिटोल आफैमा क्रियाशील टोल रहेको बताए । हरेक टोलहरुले शान्ति टोलबाट सिक्न जरुरी रहेको बताउँदै उनले एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।
